गरिबी, बेरोजगारी र भ्रष्टाचारका विरुद्ध साझा रूपमा लडौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरूले गरिबी, बेरोजगारी र भ्रष्टाचारका विरुद्ध साझा रूपमा लड्नुपर्ने बताएका छन् ।
शनिवार नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राजनीतिक दलका दुस्मन भएको भन्दै त्यसका विरुद्धमा साझा रूपमा लड्नुपर्ने बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी यिनै साझा दुस्मनका विरुद्ध लडिरहेको भन्दै कुनै राजनीतिक दलहरूसँग आफूहरूको प्रतिस्पर्धा नभएको बताए । उनले आफूहरूको चुनौती पार्टी निर्माण, सङ्गठनको चुस्तता र दस्ताबेज निर्माणमा भएको बताए ।
उनले रास्वपा रास्वपा आफ्नै खुट्टामा अल्झिएर लड्छ कि भन्ने विषयमा सोच्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने ‘वास्तवमा भन्नुपर्दा हाम्रो प्रतिस्पर्धा कुनै राजनीतिक दलसँग होइन । सबै राजनीतिक दलको प्रतिस्पर्धा, दुस्मनी भनौँ अथवा लड्नुपर्ने साझा दुस्मन भनेको यो देशको गरिबी, यो देशको बेरोजगारी, यो देशको भ्रष्टाचार हो । त्यसकारणले हामीले त्यसरी प्रतिस्पर्धा सोचेका छैनौँ । चुनावमा लड्नुपर्ने कुरा बेग्लै होला । हामी चुनाव बाहेक अरू दिनमा कुनै त्यस्तो लड्ने, प्रतिस्पर्धा गर्ने कुरा छैन । हामी लड्नुपर्ने विषय नै साझा हो । नेपाली काँग्रेसले लड्ने भनेको भ्रष्टाचार विरुद्ध भनेको छ उसले । एमालेले त्यही भनेको छ । हामीले त्यही भनेका छौँ । हाम्रो दुस्मन, लड्नुपर्ने ठाउँहरू, हामीले फाल्नुपर्ने चिजहरू साझा छन् । राजनीतिक प्रतिस्पर्धा चुनावमा मात्रै हो । हामीले आफ्नै दल बनाउनुपर्ने भएकाले चुनौती हामी भित्र नै छ । जनताले जुन आशा र विश्वासका साथ हामीलाई छोटो समयमा सङ्केत गरेका छन् । कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने बाहेक हामीले अहिलेका लागि सोच्नुपर्ने अवस्था छैन । त्यसकारणले हामीले हाम्रा लागि चुनौती पार्टी निर्माण हाम्रो चुनौती हो । सङ्गठनको चुस्तता, दस्ताबेज बनाउने चुनौती हो ।’
उनले नेपाली जनताका मुद्दाहरूमा मेलमिलापको नीतिको सान्दर्भिकता कहिल्यै पनि नहट्ने बताए । काँग्रेसले अङ्गीकार गरेको विगतको मेलमिलापको नीति, चुनौती र पात्रहरू अलग भएपनि सो नीतिलाई एउटा असल नीतिको रूपमा लिन सकिने सभापति लामिछानेको भनाई छ ।








