मिथिलामा सन्तानको कामना गर्दै ‘खोइँछ’ भर्ने विधि सम्पन्न

काठमाडौँ । मिथिलाञ्चलको शक्तिपीठहरुमा आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

नवरात्री सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाहरूले शक्तिपीठमा दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै परम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन् ।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बसेर विजय दशमीका दिन ससुराली जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ ।

मिथिलाञ्चलका शक्तिपीठहरु, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिलमहिलाको घुइँचो लागेको थियो । खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको संस्कृतिविद्हरू बताउँछन् ।

यता खोइँछ भरी विधिका लागि सामान्य प्रशासनमन्त्री अनिता साह समेत पुगेकी थिइन् । उनले मिथिला सौभाग्यवति महिलाले गर्ने विधिका लागि आफू पनि माता राजदेवी माताको आशीर्वादका लागि आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =