विट्विन द लाइन्स

स्वस्तिमा खड्कासँग यात्रा, विवाह, राजनीति, महिला चरित्र, पृथक् भूमिकाका चुनौती लगायत विषयमा कुराकानी (भिडियो सहित)

खगेन्द्र लामिछानेसँगको अन्तर्वार्ता (हेर्ने लिंक) सकिइसकेको थियो । मैले स्वस्तिमालाई स्टुडियोको फोटो पठाएँ । 

‘हाम्रो कहिले गर्ने ?’ उनले मलाई सोधिन् । 

हाम्रो पल्पसा क्याफे नाटकको दौरान पहिलोपल्ट भेट भएको थियो । टियुको जङ्गलमा उनी, विपिन कार्की दाइ, मेरो साथी नवराज पराजुली, निर्देशक विमल सुबेदी अनि असोसिएट निर्देशक दिलीप रानाभाट सँगै भेटेर ‘पल्पसा क्याफे’ नाटकको पहिलो ड्राफ्ट पढेका थियौँ । 

पछि त्यसको पटक पटक रिहर्सल भयो । पटक पटक लकडाउन भयो । सो हुन हुन खोज्यो । तर भएन । 

त्यसपछिको लामो ग्यापमा परिस्थिति फेरियो । उनले दाँतको अप्रेसन गरिछन् । त्यसमा समस्या भएछ । उनी खेल्न पाइनन् । उनको ठाउँमा सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाइन् । 

तर सँगै नाटक गर्न नपाएपछि हाम्रो दोस्ती बढ्यो । उनीसँग बेलाबखत भेट्दै फिल्म तथा गीतको बारेमा गफ गर्ने माहौल बन्यो । पोखरामा गएको वर्ष मैले एउटा सेसन चलाएको थिएँ । ‘सिनेमा समीक्षाको समीक्षा’ विषयमा उनीसँगै प्यानलमा निर्देशक दीपेन्द्र लामा, समीक्षक अनुप सुवेदी पनि सँगै थिए ।

त्यो छलफलको लागि बस्ने क्रममा उनको सिनेमाचेतको बारेमा थाहा भएको थियो ।  

लेनिन बन्जाडे, सृजना पोख्रेल, नवराज पराजुली, गायक उज्ज्वल सागर लगायत हामीले सुन्दर समय सँगै बिताएका थियौँ । गीत सुनेका थियौँ । सँगै यात्रा गरेका थियौँ । 

त्यसपछि काठमाण्डौमा आयोजित नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि उनी सम्मिलित प्यानल मोडरेट गर्नुपर्ने भयो । खासमा मुभी लभर्सका अरू नै साथीले गर्न भनेको त्यो मोडरेसन अन्तिम समयमा मेरो हातमा परेको थियो । 

त्यस बेला उनी ‘भष्टे डन’ को सुटिङमा व्यस्त थिइन् । सुटिङलाई बिचमा नै छोडेर सेसनको लागि आएकी थिइन् । 

त्यो सेसनमा हामीले नेपाली दर्शकको विकासक्रमबारेमा कुरा गरेका थियौँ । उनीसँगै प्यानलमा थिए निर्देशक सुजित बिडारी र निर्माता अशोक शर्मा । 

हामीबिचमा व्यक्तिगत दोस्ती र व्यवसायीक काम सँगै हुर्किँदै थियो । म उनलाई बोलाउने योजनामा नै थिएँ । 

‘अब बोलाउँछु । कहिले भ्याउँछौ भन ।’

उनले सोधेपछि मैले निर्णय गर्ने कामलाई उनको जिम्मामा छोडिदिएँ । 

उनले आउने दिन भनिन् । 

मैले तयारी थालेँ । 

उनको पनि खगेन्द्र लामिछाने दाइको जस्तै ‘पशुपतिप्रसाद दुई भष्मे डन’ को प्रचार चलिरहेको थियो । सँगै निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ को पनि काम चलिरहेको थियो । त्यही बिचको एउटा दिन उनले छानेकी थिइन् । 

सुटिङ तय भएको दिन बिहान उनलाई सम्झाउन म्यासेज गरेँ । 

‘केही समय ढिलो गर्न पाइन्छ ?’ उनले सोधिन् । 

‘भरसक पाइन्न । मैले क्यामेराको तयारी गरिसकेको छु । केटाहरूलाई भनिसकेको छु ।’ मैले भनेँ । 

भनेको समयभन्दा केही समय पहिला उनले फेरी म्यासेज गरिन् । फोटो पठाइन् । अनि लेखिन् ।

‘जिममा छु । यतैबाट आउँदा हुन्छ ?’

‘आउनुपर्‍यो जताबाट आउँदा पनि हुन्छ । क्याजुअल सो हो त्यसैले के लगाउने भन्दा बढी के भन्ने कुरा म्याटर गर्छ ।’ मैले भनेँ । 

हामी मकालुखबरको स्टुडियोमा भेट्यौँ । 

समयमा नै सुटिङ सुरु भयो । 

उनी भर्खरै मनाङ गएर आएको मलाई थाहा थियो । मैले त्यहाँबाट नै सोध्न सुरु गरेँ । 

‘यात्राले के दिन्छ ?’

‘गन्तव्यमा पुग्नु पनि पर्दैन । यात्राले नै पनि धेरै सिकाउँछ ।’ उनले जवाफ दिइन् । 

 म सोध्दै गएँ । 

‘पहिलोपल्ट केटी भएको कहिले थाहा भयो ?’

उनी भन्दै गइन् ।

‘बिहे गरेपछि ।’

उनलाई मैले उनका विशेषताहरूबारेमा पनि प्रश्न सोधेँ । उनका छनौटहरूको बारेमा पनि प्रश्न सोधेँ । 

उनी जवाफ दिँदै गइन् । नेपालमा फिल्म बनाउने टिमको ‘अनेस्टी’ अक्सर कम भएको स्विकारिन् । ‘पब्लिक फिगर’ हुनुको फाइदा वा बेफाइदाबारे भनिन् । आफूले निभाएका रणकला वा पुष्पा जस्ता फरक चरित्रहरूले सिकाएको कुरा सुनाइन् । उमेर बढेसँगै आउने परिवर्तनले आफूलाई अझै प्रभावकारी कलाकार बनाउने भएकाले महिला कलाकारलाई उमेरले फरक नपार्नुपर्ने बताइन् । मिडियाले बिहे गरेका महिला र पुरुष कलाकारलाई सोध्ने प्रश्नमा पूर्वाग्रह रहेको बताइन् । फर्मुला फिल्म र आर्ट फिल्मका चरित्रहरू गर्दाको अन्तर केलाइन् । 

हामीले यसरी १ घण्टा १७ मिनेट कुराकानी गर्‍यौँ ।

भिडियो हेर्ने लिंक:

भिडियोमा सोधिएका हरेक प्रश्नहरूको टाइमस्ट्याम्प:

0:00 – 2:45 – अन्तर्वार्ताको सुरुवात

2:48 – तिमी भर्खरै मनाङ पुगेर आयौ है ? सुनाऊ न कस्तो भयो । 

6:11 – यात्राले तिमीलाई के गर्छ ? तिमी कस्तो खाले यात्री हो ?

8:37 – यो यात्रामा भेटेको कुनै विशेष चरित्र वा मान्छे याद छ ?

11:50 – अगि ‘पल्पसा क्याफे’ नाटक हुन नपाएको प्रसङ्ग आयो । नपाएको प्रोजेक्टहरूले एक कलाकारको रूपमा तिमीलाई के दिँदोरहेछ ?

14:10 – ‘राम्रो प्रोजेक्ट’ भन्यो भने नेपालको केसमा आइडियल्ली कस्तो प्रोजेक्ट हो ?

15:16 – तिमीले अनेस्टी सहितको प्रोजेक्ट धेरै कम हुन्छ भन्यौ, किन हुँदैन होला नेपालमा त्यस्तो ?

16:23 – तिम्रो लागि ‘पब्लिक फिगर’ हुनु भनेको के रहेछ ?

17:46 – पब्लिक फिगर हुनुको फाइदा वा बेफाइदा के रहेछ ?

19:42 – पहिलो विशेषता – तिमीले आफ्नो सिनेमा यात्राको क्रममा फरक फरक चरित्रहरूलाई निभाएको छौ । ती मध्ये कस्तो चरित्र लामो समयसम्म रहँदोरहेछ । केही सुनाऊ न । [एक्टरको इमेज]

25:33 – तिमीलाई आफू केटी हो भन्ने कुरा कहिले र कसरी थाहा भयो ? [विवाह गरेपछिको सन्दर्भ]

30:18 – त्यो कुरा तिमीले निभाएका ‘बुलबुल’की रणकला वा ‘चिसो मान्छे’ की पुष्पा बिचमा कसरी प्रकट भयो जस्तो लाग्छ ? उनीहरूले तिम्रो हेर्ने नजर कसरी परिवर्तन गर्‍यो ? [पूर्वाग्रह]

34:02 – तिमीले भनिरहेको कुरा समानुभूतिसँग जान्छ होला । रणकलाले भोगेको जस्तो अवस्था आफूले नभोगीकनै बुझ्ने समाज बनाउन हामीले के गर्नुपर्छ होला ?

35:06 – रणकला र पुष्पाको चरित्रको बिचमा तुलना गरेको छौ ? 

36:12 – उनीहरूजस्ता चरित्रहरू त्यसपछि पनि भेट्यौ ?

38:35 – यी दुवै चरित्रहरू पुरुषले लेखेका हुन् । यदि यिनलाई कुनै महिलाले लेखेको भए के फरक हुन्थ्यो होला ?

40:04 – दोस्रो विशेषता – दुवै खाले फिल्म गर्ने – कमर्सियल क्यारेक्टर र त्यो भन्दा पृथक् चरित्र गर्दाको फरक के हुन्छ ?

44:22 – कुनै कुनै चरित्रहरू तिम्रो विश्वास प्रणालीभन्दा फरक पनि हुन सक्छ । थोरै ‘सेक्सिस्ट’ पनि हुन सक्छ । कुनै त तिमीले गर्न नचाहेको पनि हुन सक्छ । कति एकदमै संवेदनशील पनि हुन सक्छ । त्यसलाई छुट्याउने लाइन कसरी सिर्जना गर्छौ ? [कतिपय कुरा भनिसकेपछि थाहा हुन्छ ।]

47:34 – तेस्रो विशेषता – कमर्सियल्सहरू गर्ने – ती कमर्सियल्सहरूमा हुने विभिन्न नचाहेका कुराहरूलाई कसरी डिल गर्छौ ? [ब्रान्डहरूसँगको काम]

51:14 – एक कलाकार वा व्यक्तिको रूपमा तिमी आफूलाई कसरी परिवर्तन भइरहेको छु जस्तो लाग्छ ? [महिला चरित्रको करियर]

55:30 – चौथो विशेषता – फिल्मको गीत र नृत्य – धेरै हेरिएको अनुहार हुँदा तिमी जति हो त्यति हुन पाउँदैनौ । धेरैले तिमीलाई तिम्रो सानो हिस्साको कारण चिनिरहेको हुन सक्छ । यसलाई तिमीले कसरी हेर्छौ ?  

58:06 – एक कलाकारको रूपमा तिमीलाई सबैभन्दा गाह्रो हुने कुरा के हो ?

1:00:14 – अहिले यहाँ बसेर हेर्दा तिमीलाई डिफाइन वा ट्रान्सफर्म गरेको मोमेन्टहरू के हो ? [आर्मी स्कुलको प्रभाव]

1:04:10 – पाँचौँ विशेषता – राजनैतिक रूपमा पनि आवाज उठाउने – यस्तो किन ? यसलाई कसरी हेर्छौ ?

1:08:13 – तिम्रो सबैभन्दा लोएस्ट पोइन्ट कुन हो ? [केटी मान्छे भएपछि यति त गर्न परिहाल्छ ।]

1:10:40 – तिमीलाई के ले खुसी बनाउँछ ?

1:11:27 – तिमीलाई के ले दुखी बनाउँछ ?

1:11:41 – तिमीलाई के ले एङ्सियस बनाउँछ ?

1:12:06 – तिमीलाई के ले आशावादी बनाउँछ ?

1:13:09 – आफूले गरेको एउटा गल्ती जुन अरूलाई नगर्न भन्छौ, त्यो के हो ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *