सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । गुल्मी, रेसुङ्गा नगरपालिका–१४ टापुस्थित सडकमा लु.१ क ५०२४ नम्बरको जेसीबीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९२ वर्षीय कृष्ण बहादुर सुनारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्का झापा, भद्रपुर नगरपालिका–८ नमुना टोलस्थित सडकमा मे.७ प ७७२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ बस्ने ५१ वर्षीय योग प्रसाद लिम्बूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै ओखलढुंगा, सिद्विचरण नगरपालिका–२ ठुलाछापस्थित सडकमा बा.१५ च ८५७० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही नगरपालिका–२ बस्ने ४५ वर्षीया नरमाया राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक मिसन अस्पताल ओखलढुङ्गामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनमा घाइते भएका बोलेरोमा सवार अन्य ३ जनाको सोही अस्पतामा उपचार भइरहेको छ ।
बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।








