सरकारले गैर आवासीय नेपाली संघसँग थप सहकार्य गर्न चाहेको छ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताएका छन् ।

मङ्गलवारबाट काठमाडौँमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवर्धन गर्न, नेपाली कला, संस्कृति र गौरव गाथालाई संसारभरि फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकहरूमा लबिङ गर्न र सहयोगी हातहरू विस्तार गर्न एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यससँगको सहकार्यलाई थप प्रभावकारी बनाउन सरकारले सबै प्रयत्न गर्ने स्पष्ट पारे ।

मन्त्री साउदले गैर आवासीय नेपालीहरूलाई सरकारले अवैतनिक राजदूतको रूपमा ग्रहण गरेको समेत बताए । नेपालको राजनीतिमा पनि महत्वपूर्ण एजेण्डा बन्न सकेको भन्दै एनआएएनएको प्रशंसा पनि उनले गरे ।

मन्त्री साउदले नेपाल राष्ट्रको विकास र समृद्धमा एनआरएनएको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने ‘यो संघबाट नेपाली जनताले धेरै अपेक्षाहरू गरेका छन् । तपाईँहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासमा थप ऊर्जा बन्नेछ भन्ने अपेक्षा बढ्दै गएको छ । गैर आवासीय नेपालीहरुसँगको हातेमालो नेपालको विकास र समृद्धिका महत्वपूर्ण हुने देखिएको छ । नेपालीका लागि नेपाली भन्ने मूल नारा ज्ञान र रूपान्तरण समृद्धिको आधार भन्ने मूल विषयमा केन्द्रित भई तपाईँहरूले अघि बढाउनुभएको यो अभियान आगामी दिनमा नेपाल भित्र र नेपाल बाहिर बस्ने नेपालीहरूका लागि अत्यन्तै सार्थक हुनेछ भन्ने हाम्रो विश्वास छ । राजनीतिक परिवर्तन पछि संविधान कार्यान्वयनले तीव्रता पाएसँगै विकास, निर्माणले गति लिन थालेको छ । आर्थिक विकास र समृद्धिको राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न स्रोत, साधनको जोहो गर्दै उपलब्ध स्रोतको परिचालन गर्नुपर्ने अवस्था आएको छ । नवीनता र प्रविधिको उच्चतम विकास गर्न तपाईँहरूको ज्ञान, सीप र पुँजीको लगानी थप महत्वपूर्ण हुनेछ ।’

उनले आर्थिक विकास र समृद्धिको प्रतिबद्धता पूरा गर्न स्रोत र साधनको परिचालन गर्नुपर्न अवस्था आएको बताए ।

उनले भने ‘नेपालमा तपाईँहरूको लगानी भित्रिँदा वर्तमान देखिएको स्रोतको अपर्याप्तता तथा चापलाई न्यूनीकरण गर्दै लगानीको लागि स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा समेत मैले लिएको छु । नेपाल सरकारले गैर आवासीय नेपाली अभियानलाई महत्त्व दिँदै यस अभियानको प्रत्येक क्रियाकलापहरूमा यथासम्भव साथ र सहयोग गरिरहेकै छ । नेपालको संविधान २०७२ ले गैर आवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको छ । यसलाई कार्यान्वयन गर्नका लागि आवश्यकता अनुसार सङ्घीय कानुन निर्माण भइसकेका छन् ।’

उनले गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था भइसकेको र आवश्यक कानुन निर्माण भइसकेको बताए ।

उनी भन्छन् ‘यसै सिलसिलामा हालै नेपाल नागरिक नियमावली तेस्रो संशोधन २०८० राजपत्रका प्रकाशित भइसकेको छ । र, यसै सन्दर्भमा आज मात्रै सम्माननीय पुष्पकमल दाहाल प्रचण्डजीले पहिलो चोटि गैर आवासीय नेपालीहरूलाई नागरिकता प्रदान गरेको कार्यक्रम एजेण्डा गरेर भर्खरै म यहाँ फर्केको कुरा पनि म साथीहरू माझ स्पष्ट गर्न चाहन्छु । यसले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला गरेको छ । यसको कार्यान्वयनको सहजीकरण गर्न नेपाल सरकार कटिबद्ध छ । यसबाट तपाईँहरूले आगामी दिनहरूमा नेपालप्रति देखाउन स्नेह एवं सद्भाव अझ बढ्नेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैगरी गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा यसको नियमावली २०६६ ले गैर आवासीय नेपालीहरूलाई विभिन्न सुविधा र सहुलियत उपलब्ध गराएको छ । गैर आवासीय नेपालीहरूले निश्चित अधिकारसहितको गैर आवासीय नेपाली परिचय पत्र पाउने, नेपालमा लगानी गर्दा विभिन्न सहुलियत तथा सुविधाहरू पाउने, नेपालमा बसोबास गर्न निश्चित मात्रामा घरजग्गा खरिद गर्न पाउने लगायतका व्यवस्थाहरू यस ऐन तथा नियमावलीमा रहेका छन् । त्यतिमात्रै होइन गैर आवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिको नेतृत्वको परराष्ट्रमन्त्री स्वयमले गर्ने प्रचलन रही आएको छ । यस आयोजक समितिमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य, नेपालका सरकारका विभिन्न मन्त्रालयका सचिवहरूलगायत उच्च पदस्थ पदाधिकारीहरू रहनुले पनि गैर आवासीय नेपालीहरूप्रति नेपाल सरकारको प्रतिबद्धता स्पष्ट हुन्छ । त्यस्तै परराष्ट्र मन्त्रालयमा गैर आवासीय नेपाली सम्बन्धी विषय हेर्न बेग्लै महाशाखाको व्यवस्था गरिएको छ । यसरी नेपाल सरकारले गैर आवासीय नेपालीलाई प्रोत्साहन र सहजीकरण गर्न विगतदेखि नै विभिन्न खालका कानुनी, नीतिगत, संस्थागत र कार्यक्रमगत पहल र प्रयत्न गर्दै आएको छ ।’

उनले परराष्ट्र मन्त्रालयमा गैर आवासीय नेपाली सम्बन्धी विषय हेर्न बेग्लै महाशाखा राखेको जानकारी दिए ।

उनले भने ‘आवश्यकता अनुसार गैर आवासीय नेपाली सम्बन्धी ऐन तथा नियमावलीमा आवश्यक संशोधन र परिमार्जन गरी यस विषयलाई थप गतिशील र सार्थक बनाउन नेपाल सरकार सधैँ सकारात्मक रही आएको छ । नेपाल सरकार तपाईँहरूसँग अझ सहकार्य र हातेमालो गर्न चाहन्छ । हामी विदेशस्थित नेपाली नियोगहरूसँग मिली तपाईँहरूले नेपालमा लगानी भित्र्याउन, विदेशी पर्यटक भित्र्याउन, विदेशमा नेपाली वस्तु तथा सेवाको बजार पहिचान तथा प्रवर्धन गर्न, नेपाली कला, संस्कृति र गौरव गाथालाई संसारभरि फैलाउन, नेपाल र नेपालीको हितमा विभिन्न मुलुकहरूमा लबिङ गर्न र सहयोगी हातहरू बिस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुहुन्छ । त्यसका लागि हाम्रो सहकार्यलाई थप प्रभावकारी बनाउन हामी सबै प्रयत्न गर्नेछौँ । नलेज एण्ड ट्रान्सफर्मेशन, द फाउन्डेशन अफ परसरिटी भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको यस विश्व सम्मेलनले गैर आवासीय नेपाली संघलाई थप सबल, सशक्त र गतिशील बनाउनेछ भन्ने मेरो दृढ विश्वास छ । देश विदेशमा रहेका सम्भावनाहरूलाई खोजी गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न गैर आवासीय नेपालीहरूलाई सशक्तीकरण गर्न र गैर आवासीय नेपाली सङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु । कुनै बेला आर्थिक उपार्जनका लागि मात्रै बाहिर जानु भएका मान्छेहरूको रूपमा लिइएका गैर आवासीय नेपालीहरूलाई आज आर्थिक पक्षमा मात्रै होइन, त्यसका सामाजिक पक्षमा पनि विदेशका कल्चर नेपाल ल्याउने, नेपालको संस्कृति त्यो ठाउँमा लैजाने एउटा अवैतनिक राजदूतका रूपमा ग्रहण गरेका छौँ । र, त्यतिमात्रै नभईकन राजनीतिमा पनि गैर आवासीय नेपालीहरूको उपस्थिति अत्यन्त महत्वपूर्ण छ । र, नेपालको राजनीतिका पनि महत्वपूर्ण एजेण्डा बन्नका लागि तपाईँहरू सफल हुनुभएको छ ।’

मन्त्री साउदले गैर आवासीय नेपालीलाई नागरिकता दिने कामको सुरुवात भएको उल्लेख गर्दै त्यसलाई सहजीकरण गर्न पनि सरकार कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =