इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए ।

उनले मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए । उनले अज्ञात विपिन जोशीको भने खोजी भइरहेको बताए । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरूसँग समन्वय गरेर खोजी भइरहेको बताए ।

उनले भने ‘अहिले इजरायलको घटनाले मुलुक तरङ्गित भएको छ । १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ । उनीहरूको निधन भएको छ । उनीहरूमध्ये केही मानिस घाइते भएका छन् । विपिन जोशी अज्ञात छन् । त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ । बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ । र हराएका विद्यार्थीको बारेमा पनि इजरायल सरकारसँग पनि र इजरायल बाहेकका अन्य खाडीका सरकारहरू जसको हमास समूहसँग सम्पर्क छ भन्ने गरिन्छ । उनीहरूसँग सम्पर्क गरेर हामीले समन्वय गरेर खोजी गर्ने काम सरकारले तीव्रतासँग गरिरहेको छ ।’

उनले सरकारले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =