समाजको चरित्र नै सरकारको ऐन हो : अध्यक्ष हमाल

काठमाडौँ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले समाजको चरित्र नै सरकारको ऐन भएको बताएका छन् ।
सोमवार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले समाजको चरित्रबाट नै सरकार र देशको भविष्य निर्माण हुने बताएका हुन् ।
उनले मुलुकको सामाजिक र आर्थिक विकास गर्नको लागि सरकारका सम्पूर्ण निकायहरूले प्रणालीका काम गर्न सक्नुपर्ने बताए । उनले कुनै पनि काम नियम र प्रणालीमा हुँदा जुन सकै निकायमा जो भए पनि फरक नपर्ने बताए ।
उनले जो कार्यकारी निकायमा भएपनि प्रणालीमा काम गरे मात्रै मुलुकको विकास हुने बताए । उनले मुलुकको आर्थिक विकासको लागि प्रणालीमा काम गर्ने र हाकिमको निर्देशन कम गर्न आवश्यक रहेको बताए ।
उनले देशका कार्यकारी प्रमुख प्रधानमन्त्री, मन्त्री वा अन्य निकायमा कार्यकारीको निर्देशन भन्दा पनि प्रणालीमा काम हुन आवश्यक रहेको बताए ।
उनले भने ‘समाज अगाडि बढाउन हामीले तीन चरणका कामहरू गर्नुपर्छ । नेपालका सम्पूर्ण निकायहरू प्रणालीमा काम गर्नुपर्छ । कार्यकारी निकायमा जो सुकै मानिस भएपनि फरक पर्नुभएन । त्यहाँ प्रणालीले काम गर्नु पर्यो । विश्वमा हेर्दा पनि समाजको चरित्र सरकार र देशको भविष्य निर्माणमा मिरर हुन्छ । नेपालको प्रगतिको लागि प्रणालीमा काम गर्ने, हाकिमको तजबीजी कम हुनुपर्छ । जसमा प्रधानमन्त्री,मन्त्री वा धितोपत्र बोर्डको अध्यक्ष वा जुनसुकै निकायको प्रमुख वा पदाधिकारी होस् । तजविजी र अधिकार कम हुनुपर्यो । प्रणालीमा काम गर्ने प्रणालीको विकास गर्नु पर्छ । हाम्रो निकायमा त्यही विकास गर्न खोजिरहेका छौँ ।’
त्यस्तै, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्रमा धेरै समस्या नभएको बताए । उनले मुलुकको अर्थतन्त्र सुधारको लागि आत्मविश्वासको कम भएको भन्दै अब मनोबल उच्च बनाउने गरी सरकार तथा अन्य निकायहरूले काम गर्न आवश्यक रहेको बताए ।
उनले मुलुकको अर्थतन्त्रमा ६० प्रतिशत फण्डामेण्टल रूपमा बिग्रेको भएपनि ४० प्रतिशत मनोबल कमजोर भएको कारण समस्या आएको बताए । उनले केही आर्थिक सूचकहरू नकारात्मक हुँदा निजी क्षेत्र लगायत अन्य क्षेत्रमा मनोबल कमजोर भएको बताए ।








