नेपाली कार्टुन तुलनात्मक रूपमा धेरै शालीन र सभ्य छन् : पूर्वअध्यक्ष अविन श्रेष्ठ

काठमाडौँ । कार्टुनबाट राजनीतिमा सबै पक्षलाई चित्त बुझाउन सक्ने अवस्था नरहने कार्टुनिष्टहरुले बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित सञ्चारमाध्यममा कार्टुनको प्रयोग र आचारसंहिता विषयक कार्यक्रममा कार्टुनिष्टहरुले यस्तो बताएका हुन् । उनीहरूले सञ्चारमाध्यममा कार्टुन प्रभावकारी विधाको रूपमा आइरहेको पनि बताए ।
उनीहरूले पछिल्लो समयमा सामाजिक सञ्जालमा कार्टुनमा कुनै नेतालाई छुनै नहुने जस्ता प्रतिक्रिया पाउने गरेकोमा दुःख व्यक्त गरे । कार्टुनिष्ट क्लबका पूर्वअध्यक्ष अविन श्रेष्ठले केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट कार्टुनिष्टहरुले कुनै नेताप्रति गरेको व्यङ्ग्यका कारण आक्रमण झेलिरहनुपरेको दुखेसो गरे ।
उनले नेपाली कार्टुन तुलनात्मक रूपमा धेरै शालीन र सभ्य रहेको बताए ।
उनले भने ‘सञ्चारमाध्यममा कार्टुन प्रभावकारी विधाको रूपमा आइरहेको छ । जहाँसम्म आचारसंहिताको कुरा छ, यो कस्तो हुन्छ भने विशेष हामी पोल्टिकल्ली कार्टुनिष्टहरुलाई धेरैजसो कार्टुनको विषयवस्तु राजनीति नै हुने भएकाले राजनीतिमा सबै पक्षलाई चित्त बुझाउन सक्ने अवस्था हुँदैन । कुनै न कुनै पक्षलाई चित्त नबुझिरहेको नै हुन्छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा राख्ने गर्छौँ, त्यसमा आउने प्रतिक्रिया हेर्दा अहिले एक दुई जना नेतालाई छुनै नहुने, छोयो भने आक्रमण झेलिहाल्नुपर्ने, यस्ता यस्ता आचारसंहिता सिकाउन तत्पर हुन्छन्, सामाजिक सञ्जालका प्रयोग कर्ताहरू । हामी छक्क पर्छौँ । प्रेस काउन्सिलमा उजुरी राख भन्छौँ । तर कहिले काहीँ प्रेस काउन्सिलले त्यस्ता कुरा नउठाइदिँदा चित्त दुख्छ । नेपाली कार्टुन तुलनात्मक रूपमा धेरै शालीन छन् । त्यत्ति भइकन पनि विभिन्न आक्षेप लगाउँदा चित्त दुख्छ ।’
उनले नेपाली कार्टुन अन्य देशको तुलनामा सभ्य र शालीन हुँदाहुँदै पनि लाग्ने आक्षेपका कारण दुःख लाग्ने गरेको बताए ।








