कोशीमा एमालेबाट राना र कांग्रेसबाट राई मन्त्री बन्दै

काठमाडौँ । कोशीका मुख्यमन्त्री केदार कार्कीले आज दुई मन्त्रीको सपथ गराउने भएका छन्।

प्रदेश प्रमुखले आज मुख्यमन्त्री कार्कीलाई सपथ गराएलगतै कांग्रेसबाट एक जना र नेकपा एमालेबाट एक जनालाई मन्त्रीको सपथ गराउने तयारी रहेको कोशी प्रदेशका निवर्तमान मन्त्री समेत रहेका एमाले सांसद पाँचकर्ण राईले बताए।

एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई आज मन्त्री नियुक्त गर्ने तयारी छ। उनीहरु दुवै जना इलामबाट प्रदेश सभामा निर्वाचित भएका हुन्।

लामो रस्साकस्सीपछि विघटनको डिलमा पुगेको कोशी प्रदेश सभामा एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसबाट विद्रोह गर्दै कार्की शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कांग्रेस संसदीय दलले मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई समर्थन गरेको थियो। तर कार्कीले आफ्नो पार्टीका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए।

आङ्बो र कार्कीले नै मुख्यमन्त्रीमा बहुमत रहेको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले शनिवार सांसदलाई हस्ताक्षर सनाखत गराएका थिए।

जसमा कार्की पक्षका बहुमत सांसदले सनाखत गरे पनि आङ्बो पक्ष भने हस्ताक्षरमा सहभागी भएनन्।

अल्पमतमा परेर पार्टी नै विभाजनको अवस्थामा पुगेपछि सत्ता गठबन्धनले पनि अन्तिम समयमा कार्कीलाई नै समर्थन रहेको जनाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =