कोशी विवादले काँग्रेसमा रडाको, कोइरालाको अडान कायमै

काठमाडौँ । कोशी प्रदेश सरकारको विषयलाई लिएर नेपाली काँग्रेसमा आन्तरिक विवाद उत्पन्न भएको छ ।

बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनका सात दलको बैठकले कोशी मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गर्‍यो ।

देउवाले काङ्ग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितको गठबन्धनबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । तर प्रदेशसभामा रहेका कांग्रेसका सांसदहरूले भने देउवाको त्यो निर्णय स्वीकार गरेका छैनन् ।

कोइराला पक्षका ८ जना सांसदहरूले नेकपा एमालेका ३९ जना सांसदको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी गरेपछि काङ्ग्रेसभित्र सङ्कटको स्थिति पैदा भएको हो ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर काँग्रेस सांसद कार्कीले ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका हुन् । लगत्तै सत्ता गठबन्धनबाट माओवादीका आङ्बोले पनि संसदीय दल नेताहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कोशी मुख्यमन्त्री माओवादीलाई छाड्ने देउवासहितको निर्णय र सर्कुलरलाई कांग्रेसका ८ सांसदले चुनौती दिँदै केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेपछि काँग्रेस राजनीति तरङ्गित भएको छ ।

पार्टी सभापतिले गरेको निर्णय कार्यान्वयन नभएको अवस्थालाई कसरी समाधान गर्ने भन्नेमा अनौपचारिक छलफलमा पदाधिकारीहरू जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्री चयन गर्ने विषयमा कोशीकै सांसदहरूबिच विभाजन देखिएपछि त्यसबारे छलफल गर्न सभापति देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ५ मा बहुमत पु¥याउन सक्ने सांसदले मुख्यमन्त्रीमा दाबी पेस गर्न पाउने व्यवस्था छ । यसअनुसार कुनै सांसदले पार्टी निर्णयअनुसार मुख्यमन्त्रीमा दाबी गरे पनि ह्विप उल्लङ्घन गरेकोमा सम्बन्धित पार्टीले कारबाही गर्न सक्दैन ।

त्यसैले पनि नेता कोइराला पक्षका कोशीका ८ जना सांसदहरू कार्कीलाई मुख्यमन्त्री बनाउन अग्रसर भएका हुन् ।

कोशीमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीको ४ र जसपाका १ जना सांसद छन् । एमालेका ४० र राप्रपाका ६ गरी कोशीमा ९३ जना सांसद छन् । कोशीमा सरकार बनाउन बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ ।

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफनो समूहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ ।

कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा ५ बमोजिमको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी गर्ने समय शुक्रवार साँझ ५ बजे सकिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *