अबका आर्थिक नीति वैकल्पिक रोजागारीमा लक्षित हुनुपर्छ : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार,पर्यटन, निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकमा उत्पादन रोजगारी, स्वरोजगारी सिर्जना गरी जीवनस्तर सुधार गर्न परम्परागत ज्ञान तथा सीपमा व्यवसायीकरण, विद्यललयहरुमा व्यवहासयिक शिक्षा सञ्चालन र कृषिमा आधुनिकीकरण जस्ता कार्यक्रममा सरकारले प्राथमिकता दिएको बताए ।
उनले सरकारका विभिन्न प्रयासका बाबजुद कोभिड १९ लगायतका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्तारचढावका कारण देशभित्रका आर्थिक गतिविधि सुस्त हुँदा राजश्व संकलन र पुँजीगत खर्चमा कमी आएको बताए ।
उनले वैकल्पिक रोजागारीका लागि अबका आर्थिक नीतिहरु लक्षित हुनुपर्ने बताए । उनले युवाको लागि उद्यमको क्षेत्रमा सहुलियतपूर्ण कर्जा तथा कर्जामा दिइएको अनुदान कार्यको निरन्तरता, एवं कृषि पर्यटन, जलश्रोत, वन, जडिबुडी र खनिजलाई आधार बनाइ उद्यमशीलता विकास तालिम सहुलियतपूर्ण कर्जाको सहज वातावरण निर्माण गरी युवा उद्यमशीलतालाई माथि उठाउने नीति कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
उनले भने– ‘समाजको परिवर्तित संरचना र बदलिएको जीवनशैलीमा भएको विकास तथा सोको उपयोग समेतले आर्थिक विकासका क्षेत्रमा सापेक्ष चिन्तन भित्रिएको छ । शहरी क्षेत्रमा व्यवस्थित, अव्यवस्थित बसाईसराईको तिब्रता, विप्रेषणको प्रभावबाट ग्रामिण गरिबी केही घटेको छ भने ग्रामिण गरिबी शहरी गरिबीको रुपमा रुपान्तरण भएको छ । मुलुकमा उत्पादन रोजगारी, स्वरोजगारी सिर्जना गरी जीवनस्तर सुधार गर्न परम्परागत ज्ञान तथा सीपमा व्यवसायीकरण, विद्यललयहरुमा व्यवहासयिक शिक्षा सञ्चालन र कृषिमा आधुनिकीकरण जस्ता कार्यक्रममा सरकारले प्राथमिकता दिएको छ । त्यसका साथै सरकारले पूर्वाधार,पर्यटन, निर्माणको क्षेत्रमा समेत लगानी बढाउँदै लगेको छ । सरकारका विभिन्न प्रयासका बाबजुद पनि कोभिड १९ लगायतका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्तारचढावका कारण देशभित्रका आर्थिक गतिविधि सुस्त हुँदा राजश्व संकलन र पुँजीगत खर्चमा कमी आएको छ । यसको कारण सरकारले राखेको आर्थिक वृद्धिदर प्राप्त गर्न कठिन हुँदै आएको छ । देशभित्र हुने उत्पादनशील क्रियाकलाप खुम्चिएर दैनिक जीवनयापनका लागि अत्यावश्यक सेवाहरुको आयात बढेको छ । रोजगारीका अवसर न्युन हुँदा वैदेशिक रोजगारीमा जानेको बढोत्तरी भएको छ । वैकल्पिक रोजागारीका लागि अबका आर्थिक नीतिहरु लक्षित हुनुपर्ने देखिन्छ । युवाको लागि उद्यमको क्षेत्रमा सहुलियतपूर्ण कर्जा तथा कर्जामा दिइएको अनुदान कार्यको निरन्तरता, एवं कृषि पर्यटन, जलश्रोत, वन, जडिबुडी र खनिजलाई आधार बनाइ उद्यमशीलता विकास तालिम सहुलियतपूर्ण कर्जाको सहज वातावरण निर्माण गरी युवा उद्यमशीलतालाई माथि उठाउने नीति कार्यान्वयन गर्नु आवश्यकता हो ।’
कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले वन र कृषि क्षेत्रमा सुधार गरेर मात्रै देशको आर्थिक अवस्था सुदृढ हुने बताए ।
उनले कृषि र वन क्षेत्रलाई व्यवस्थित नबनाइकन देशले फड्को मार्न नसक्ने बताए ।
उनले भने, ‘दुःख सुख गरेर लगाएको बाली वन्यजन्तुले नाश पारिदिने, खाइदिने, त्यसबाट जोगिएको बजारमा बेच्न जाँदाखेरी बजारीकरण नहुने र लागत मूल्य पनि नपाउने समस्या छ । यस्तो स्थितिमा हामी कसरी कृषिबाट फड्को मार्नसक्छौँ । हाम्रो ४५ प्रतिशत भूभाग वनमा छ, तैपनि हामी काठजन्य वस्तुहरु आयात गरिरहेका छौँ । यो दुई क्षेत्रलाई मात्रै सुधार्न सकियो भने हाम्रो देशले फड्को मार्नेछ । समस्या हामीसँग छन् अब समाधानतिर लैजानुपर्छ ।’
अध्यक्ष गोल्यानले कृषिप्रधान देशमा वार्षिक खर्बौंको कृषिजन्य उत्पादन आयात हुनु राम्रो नभएको बताए ।








