पाँच दिनपछि मन्थली-लुक्लाको उडान सुचारु

काठमाडौँ । रामेछापको मन्थलीबाट लुक्लाको उडानहरू सुचारु भएको छ । पाँच दिनपछि मौसममा सुधार आएपछि बिहीबार मन्थलीबाट लुक्लाको उडानहरू सुचारु भएको हो ।

पाँच दिनदेखि रामेछापमा अलपत्र परेका पर्यटकहरू लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ जान पाउँदा निक्कै खुसी भएका छन् । लगातार ५ दिनसम्म लुक्लाको मौसम नखुल्दा लुक्ला हुने उडान ठप्प थियो । पर्यटक मौसम सुरु भएसँगै विगतमा काठमाडौँबाट लुक्लाका लागि हुने गरेको उडानहरू केही वर्षदेखि रामेछापबाट हुँदै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप लुक्ला उडानका लागि आवश्यक पूर्वाधारहरू बनाएसँगै उडानहरू सहज भएको छ । लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरूले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यागेज एक्स-रे मेसिनको माग गरेका छन् । हाल यी विमानस्थलहरूमा एक्स-रे मेसिन नहुँदा ब्यागेज तथा सरसामानहरू हातैले खानतलासी गर्नु परेको छ, यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुनः प्याक गर्नुपर्दा झन्झटिलो हुने गरेको छ ।

विमानस्थलबाट तारा, समिट र सिता एअरले उडान गर्दै आएका छन् । सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एअरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

‘५ दिनदेखि मौसममा सुधार नहुँदा उडान हुन पाएका थिएनन्, केही पर्यटकहरू फाप्लुको उडान मार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने बाँकी हेलिकप्टर मार्फत उडान गरी गन्तव्य तर्फ लागेका थिए । मौसम खुलेसँगै उडान सहज भएको छ,’ उनले भने, ‘हाम्रो जहाज तथा जनशक्ति सबै मन्थली विमानस्थलमै थिए, आज बिहानैदेखि उडानहरू सुचारु भइरहेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *