इजरायलबाट फर्किन ३५० बढीको आवेदन, थप ७२ लाई सुरक्षित स्थानमा सारियो

इजरायलमा उद्दारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ।
यसअघि गाजाको सीमावर्ती क्षेत्रमा कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई सुरक्षा संयन्त्रको सहयोगमा उद्दार गरी थप सुरक्षित ठाउँमा सारिएको थियो।
नेपाली दूतावास तेल अबिब, इजरायलका अनुसार इजरायलको उत्तरी सिमाना आसपास रहेका उनीहरुलाई थप सुरक्षित स्थानमा सारिएको हो।
नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा ३५० भन्दा बढीको विवरण प्राप्त भएको दूतावासले जनाएको छ।
उनीहरुको सुरक्षित स्वदेश फिर्कीको प्रक्रिया सुरु गरिएको दूतावासको दाबी छ।
हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जनाइएको छ।
हराइरहेका एक जनाको खोजि कार्यका लागि प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको पनि दूतावासले जनाएको छ।
इजरायलमा रहेका नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालता गर्न भनिएको छ।









