चैत मसान्तसम्म एमाले तन्दुरुस्त बन्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रुपमा एमाले तन्दुरुस्त बन्ने बताएका छन् ।
मंगलवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने बताएका हुन् ।
उनले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको पनि बताए । उनले नेकपा एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए ।
एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मुल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश ईन्चार्ज भट्टराइले बताए ।
उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुनेगरी प्रादेशिक समिति छनोट गरिने बताए ।
उनले भने– ‘चाडपर्वहरु सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ । त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ । सबै देशभरका पालिकाको ७५३ वटाकै । त्यसपछि हाम्रो वडा अधिवेशन हुन्छ । देशभरका सबै वडाको । त्यसपछि टोल अधिवेशन हुन्छ । र चैत मसान्तसम्म पुग्दा एमाले तन्दुरुस्त हुन्छ । संगठनात्मक हिसावले । यो हाम्रो अधिवेशन साल हो । मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक छ । एमालेको मुख्यमन्त्री चाहिन्छ । एमालेको सरकार चाहिन्छ । १३६ पालिका एमालेको प्रमुख चाहिन्छ । प्रधानमन्त्री एमालेको चाहिन्छ । मधेसमा भएको शक्तिको तागत बढाउन चाहन्छौँ । ६६ हजार २ सय पार्टी सदस्यलाई कुनै न कुनै हिसावले सहभागी गराएका छौँ, यो अधिवेशनमा । पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेर्छाैँ ।’
उनले मधेस प्रदेशको आवश्यक कुरा सुशासन भएको बताए ।








