डब्ल्युएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिएका डा.आचार्यको सरकारले सहयोग नगरेको गुनासो

काठमाडौँ । सरोकारवालाहरूले विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनीहरूले सरकारले डा.आचार्यको नाम मन्त्रीपरिषद्बाट अनुमोदन गरेपनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन् ।

सरोकारवालाहरूले आचार्यलाई जिताउन सरकारले नै दक्षिण पूर्वी एसिया क्षेत्रका देशहरूसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी भूमिका समेत नलिएको गुनासो गरे ।

आगामी अक्टोबर ३० देखि दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको लागि भारतको नयाँ दिल्लीमा निर्वाचन हुँदैछ ।

दक्षिण पूर्वी एसियामा नेपाल सहित बङ्गलादेश, भुटान, दक्षिण कोरिया, भारत, इण्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लिस्टे राष्ट्र रहेका छन् ।

आचार्यसँग विगत ३० वर्षदेखि विश्वस्वास्थ्य सुगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रही काम गरेको अनुभव छ ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गर्दै आएका छन् । उनीहरूले नेपाल सरकारले डा.आचार्यलाई उम्मेदवार खडा गरेपनि पर्याप्त सहयोग नगरेको गुनासो गरे ।

अधिकारकर्मी कनकमणी दीक्षितले सरकारले डा. आचार्यलाई औपचारिक अनुमोदन गरेपनि खुलस्त सहयोग नगरेको बताए । उनले पछिल्लो केही समययता परराष्ट्रमन्त्री नारायणप्रकाश साउद पछाडि हट्न खोजेको हो की ? भन्दै प्रश्न गरे ।

दीक्षितले भने ‘क्षेमतावान उम्मेदवार अन्तर्राष्ट्रिय पोस्टको लागि नेपालले बिरलै पेस गर्न पाउँछ । विश्व स्वास्थ्य सङ्गठन जस्तो टेक्निकल, नन पोलिटिकल पोजिसनमा सहभागी हुन पाउनु धेरै गौरवको विषय हो । नातावाद, कृपावादपनि नेपालको क्यान्डीडेटमा लागू हुँदैन । सार्क देशमा बङ्गलादेश र नेपालबीच निकै सौहार्दपूर्ण सम्बन्ध कायम छ । एउटा देशको सरकार प्रमुख नातावादकै कारण नेपालको आफ्नो सक्षम क्यान्डीडेटका लागि चुनौती खडा हुन पुग्यो । अब यस्तो बेलामा बङ्गलादेश रिसाउला की भनेर नेपाल पछि हट्ने हो त । नेपाल सरकारबाट डा.शम्भु आचार्यलाई औपचारिक अनुमोदन त छ । तर, एक हदसम्म पछाडि हट्न चाहेको हो की । क्यावीनेटले नै डा.आचार्यलाई उम्मेदवारीमा प्रस्ताव गरेको हो । वर्तमान परराष्ट्र मन्त्री एनपी साउद पछाडि हट्न खोजेको मैले बुझेको छु । सदनमा डा.शम्भु आचार्यको उम्मेदवारी सम्बन्धी प्रश्न उठाउँदाखेरि हाम्रो परराष्ट्र मन्त्रीको प्रतिक्रिया के रह्यो भनेदेखि किन त्यसरी बोल्न परेको ? यसले नै चिसो पस्ने भयो की हाम्रो मुटुमा । कसैले उहाँमाथि दबाब पारेर यो ब्याक हुनुपर्छ भन्ने लगाको हो की भन्ने कुरा । हामीलाई थाह छ वर्तमान सरकार कम्फरटेबल सरकार हो । बङ्गलादेश र भारतबीचको सम्बन्ध र सम्पर्क दुई सरकार प्रमुखबिचको हामीलाई थाह छ । त्यो भएपछि भारत पनि रुष्ट होलाकी भन्ने हिसाबले नेपालले क्यान्डीडेटबाट पछाडि हट्छ की भन्ने चिन्ता जाग्नु स्वाभाविक नै हो । किनभने अरू हिसाबले देखिएकै छ । हाम्रै सरकारले अलिकति खुट्टा लरबराएको हो की अलिअलि तर्सेको हो की अलिअलि इसारामा चल्न खोजेको हो की जस्तो देखिएको छ । ’

जनस्वास्थ्यविद् प्रा.डा.रिता थापाले आचार्य क्षेत्रीय निर्देशकका लागि योग्य र सक्षम उम्मेदवार भएको बताइन् । डा.थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वाभाविक रहेको बताइन् ।

उनले नेपालले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय जगतमा राम्रो काम गरिरहेको बताइन् ।

डा.थापाले भनिन् ‘शम्भु आचार्य एक्सपर्ट हुनुहुन्छ । ३० वर्ष जति सामुदायिक स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म काम गर्नुभएको छ । भोलि महामारी आउन सक्छ । महामारी स्वास्थ्य क्षेत्रमा मात्रै होइन । बहुक्षेत्रीय हुन्छ । यो समाधान गर्न अनुभव र क्षमता चाहिन्छ । यो कुरा शम्भु आचार्यमा छ । सन् १९५३ देखि नेपाल विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध छ । नेपालले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि राम्रो काम गरिरहेको छ । यो त नेपालले पाउने सम्मान हो । सरकारले त उहाँलाई सपोर्ट गरेको छ । तर, अर्को देशको दाँजोमा हाम्रो देशले हाइएष्ट गरेमा लैजानुपर्यो ।’

अन्तर्राष्ट्रिय संघ संस्थामा लामो अनुभव सँगालेका विश्व पराजुलीले विश्व स्वास्थ्य संगठनको उच्च तहमा नेपालले उम्मेदवार दिनु गौरवको विषय भएको बताए । उनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा विश्व स्वास्थ्य सङ्गठन क्षेत्रीय निर्देशकको महत्वपूर्ण भूमिका रहने भन्दै मतदान गर्न सम्बन्धित देशलाई आग्रह गरे ।

पराजुलीले आचार्यले जिते दक्षिण पूर्वी एसियाका साथै नेपाललाई पनि फाइदा पुग्ने बताए ।

पराजुलीले भने ‘विश्व स्वास्थ्य सङ्गठनमा क्षेत्रीय निर्देशकको धेरै ठूलो भूमिका हुन्छ । क्षेत्रीय निर्देशकले कन्ट्री लेभलमा कस्तो किसिमको सहयोग गर्ने, के के कुरामा सहयोग गर्ने भन्ने कुरामा फरक पर्छ । कस्तो कार्यक्रम विकास गर्ने भन्ने कुरामा प्रभाव पार्छ । त्यसकारण त्यो हिसाबबाट नेपालको उम्मेदवार शम्भुप्रसाद आचार्य हुनुहुन्छ । नेपाल सरकारले आचार्य ज्युलाई नोमिनेट गर्नु गौरवको कुरा हो । दक्ष नेपाली यो पोस्टमा हुनुभयो भने सबै नेपालीलाई गौरव हुन्छ । उहाँको योगदानले साउथ इष्ट्रन रिजनका साथै नेपाललाई पनि फाइदा गर्छ ।’

डब्लुएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि दक्षिण–पूर्वी एसिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो । आचार्यसँगै प्रतिस्पर्धामा बङ्गलादेशबाट प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरी साइमा वाजेद छिन् ।

आचार्य डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्टाटेजी एण्ड सपोर्ट डिपार्टमेन्ट’ को निर्देशक पदमा छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =