नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।
नबिल सेक्युरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागुहुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।
दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका थिए ।
नबिल बैंकले नेपाल बंगलादेश बैकको प्राप्ति पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।
व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पुर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पुर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् ।
वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्युरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।
देशकै अग्रणी नबिल बैकले पुँजी बजारको विकास तथा व्यावसायिकता योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्युरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो ।








