माओवादीका आङ्बोले गरे कोशीको मुख्यमन्त्रीमा दावी

काठमाडौं । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने आङ्बोले बताए ।
प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी संसदीय दलका नेता आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए ।
अहिले तुलात्मक रुपमा माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने उनको दाबी छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएका छन् । संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ ।
९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत छ भने एमालेसँग ४० र राप्रपासँग ६ सिट छ ।








