चुनावमा करोडौँ असुली गर्न सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राखियो : सुनिल शर्मा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौं असुली गर्नका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाएका छन् ।

शनिवार सिंहदरबारमा आयोजित सम्पती शुद्धीकरणसम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उनले चुनावी प्रयोजनका लागि करोडौँ रुपैयाँ असुली गर्नका लागि सो विभाग प्रधानमन्त्रीले आफ्नो मातहतको कार्यालयमा राखेको जिकिर गरे ।

सांसद शर्माले देशमा कानूनलाई टेकेर नै अपराध गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले क्यासिनो संचालनका लागि तोकिएको पैसाको सीमाको दायरा बढाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद शर्माले भने–‘यो सम्पती शद्धीकरण भन्ने चाहीँ प्रधानमन्त्री कार्यालयमा लगेर राखिएको छ के । यो किन राख्या भने नि माल खानका लागि राखेको हो । चुनावका बेला प्राईममिनिष्टर जोसुकै भएपनि प्राईममिनिष्टरहरुले ठूला व्यापारीहरुलाई टवाक्क चिठी काटने । छापा हान्न पठाउने । अनि माल यति करोड भनेर लिने । अनि चुनाव लडने । यो देश यस्तो अपराधिकरण भएको छ कानूनमा टेकेर ।’

अर्की सांसद नागिना यादवले देशको हीत हुने गरी सम्पत्ति शुद्धीकरण सम्बन्धि कानून निर्माण गर्नुपर्ने बताइन् ।

नेपाल पर्यटन र रेमिट्यान्समा आधारित मुलुक भएको उल्लेख गर्दै उनले पर्यटकहरुका लागि उपयोगी हुने खालका कानून निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

सांसद यादवले भनिन्– ‘फलानो कन्ट्रीले हामीलाई के गर्छ ? फलानो कन्ट्रीको हीतमा भएन भनेर हामीले सोच्ने होइन । हामीले आफ्नो देश बनाउने हो । अर्काको देशलाई हेर्ने होइन । आफ्नो देश बनाउनेतिर जानुपर्छ भन्ने मेरो मान्यता हो । त्यसकारण मैले राष्ट्र बैंकको मनिटरिङ पोलिसीमा ५ हजार डलरको जुन प्रावधान छ । त्यसको दायरा बढाउनु पर्छ क्यासिनो खेल्नका लागि । हाम्रो कन्ट्री पर्यटन र रेमिटयान्समै आधारित देश भएको भएर यसको इकोनोमीलाई अगाडि बढाउनका लागि यो व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

सांसद यादवले सम्पत्ति शुद्धीकरण सम्बन्धि विधेयकलाई यथास्थितिमा पारित गराउने पक्षमा आफूहरु नरहेको पनि पटकपटक दोहो¥याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =