संखुवासभाको भीमेश्वर महादेव मन्दिर मर्मतका लागि बजेटको अभाव

काठमाडौँ । संखुवासभाको चैनपुर नगरपालिका–७ मा रहेको भीमेश्वर गुफामा भीमेश्वर महादेव थान मन्दिर रहेको छ ।
सबैको आस्थाको धरोहर एवं ऐतिहासिक पर्यटकीय भीमेश्वर महादेव को परिसरलाई व्यवस्थापन र प्रवेश मार्ग मर्मत सम्भार गर्नका लागि बजेटको अभाव भएको स्थानीय बासिन्दा दिनेश अधिकारी बताउँछन् ।
उनले सरकारलाई भीमेश्वर मन्दिर मर्मत–सम्भारका लागि प्राविधिक टोली र आवश्यक सिमेन्टका लागि लाग्ने रकम उपलब्ध गराउन माग गरेका छन् । उनले सहयोगका लागि प्रदेश नं १ का प्रदेश प्रमुख विदुर लिङ्गदेपलाई निवेदन समेत पेस गरेका थिए ।
उनले भीमेश्वर मन्दिर संरक्षणका कामलाई सरकारले अगाडि बढाए पनि पहाडमा बाटो (ट्र्याक) मात्र खोलेर र अलपत्र पारेको बताए । त्यसकारण पहाडमा माटोहरू बगाउन थालेको उनको भनाइ छ ।
उनले नगरपालिका र प्रदेश सरकारलाई धार्मिक तथा पर्यटकीय स्थल भीमेश्वर मन्दिरको विकाश तथा मर्मतको कामलाई पूर्णता दिन अनुरोध गरेका छन् ।
धार्मिक किंवदन्तीअनुसार महादेवले भस्मासुरलाई दिएको वरदान मोचन गर्ने क्रममा महादेव विभिन्न गुफामा वास गरेका थिए । त्यही क्रममा भीमेश्वर गुफामा पनि महादेवको वास रहेको किंवदन्ती छ ।
उनीहरूका अनुसार धेरै पहिले चैनपुरका एक किसानले महादेव प्रकट भएको सपना देखेका थिए । भोलिपल्ट गएर हेर्दा गुफामा साक्षात् महादेवको दर्शन पाएपछि त्यहाँ पूजा गर्न थालिएको उनीहरूको भनाइ छ ।
भीमेश्वरलाई भाकल गरे रोग, बिमारी निको हुने आस्था चैनपुरबासीको छ । त्यस कारण भीरको बाटो ज्यानै जोखिममा राखेर भक्तजनहरू पूजा आराधना गर्न त्यहाँ पुग्ने गरेका छन् ।
धार्मिक आस्था जोडिएको भीमेश्वर गुफा पर्यटकीय द्वष्टिकोणले पनि एकदमै महत्त्वपूर्ण छ । त्यस्तो स्थलको संरक्षण र संवर्द्धन गर्न सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ ।









