ज्ञानेन्द्र शाहीको प्रश्न– यो व्यवस्था कसका लागि ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले विदेशस्थित नेपाली दुतावासले जनताको पक्षमा काम नगरेको बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विदेशस्थित नेपाली दुतावासले जनताको काम नगरेको बताएका हुन् ।
उनले हङकङ, मकाओ, अष्ट्रेलिया, साउदी अरब र खाँडी मुलुकमा नागरिकहरु दुतावासको ढोका हजार पटक ढकढकाउँदापनि महावाणिज्य दुतले जनताको काम नगरेको बताए ।
उनले महावाणिज्य दुतले अर्बपतिको जस्तो जीवन बिताउने गरेको पनि बताए । सांसद शाहीले सरकारले समेत जनताको काम नगरेको बताए ।
उनले मूल्यवृद्धी अचाक्ली बढ्दा पनि सरकारले यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको उल्लेख गरे ।
उनले भने – ‘सरकार छ भनौ भने आज देश झन् झन् कष्टकरमा गुज्रिरहेको छ । देशभरी धार्मिक हिंसा बढ्दै गएको छ । मुलुक आक्रान्त बन्दै गएको छ । सरकार मुकदर्शक भएर बसिरहेको छ । अहिले सरकार टेबलमा खुट्टा हालेर बसीरहेको छ । कमजोर सरकारको हो । सरकारले यसलाई नियन्त्रण गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीलाई यो ज्ञान छैन की मूल्यवृद्धी कति खेर हुन्छ ? र, कसरी हुन्छ ? कसले गर्छ ? भनेर । ज्ञान नभएको कुरा संसदमा प्रष्ट नै बोल्नुभयो । पर्यटन मन्त्रीलाई यतिपनि ज्ञान छैन की हिमाली जिल्लामा हवाई यातायात नपाएर अहिलेपनि नागरिक सडकमा अलपत्र परेको अवस्था छ । एउटा नेपाल एयरलायन्स पठाउनुहुन्छ । फेसबुकमा स्ट्याटस लेख्नुहुन्छ । ठूलो नै काम गरेको जस्तो गर्नुहुन्छ । एउटा प्लेन पठाउने होइन सिस्टम बसाल्ने हो । सिस्टमले देशलाई बिकासको बाटोतर्फ लैजान्छ । केहिदिन अघि प्रधानमन्त्रीज्यु जम्बो टिमसहित विदेश भ्रमण गर्नुभयो । अहिलेपनि हङकङ, मकाउ, अष्ट्रेलिया, साउदी अरब र खाँडी मुलुकमा नागरिकहरु एम्बेसीको ढोका हजारपटक ढकढकाउँदा पनि त्यहाँका महामहीम र महावाणिज्यदुतले जनताको काम गर्दैनन् । हङकङको त इतिहास नै फरक छ । हङकङको महावाणिज्य दुताबासले एक वर्षमा ६ करोड आम्दानी गर्छ, सात करोड खर्च छ । त्यहाँका महावाणिज्य दुतको मासिक भाँडा मात्रै नौदेखि १० लाख रुपैयाँ छ । महावाणिज्य दुतले अरबपतिको जस्तो जिवन बिताउनुहुन्छ । अष्ट्रेलियामा तीनदेखि चार लाख नेपाली विद्यार्थी भइसके । अहिले अष्ट्रेलियाको दुतावासमा तीनदेखि चार जना कर्मचारीले धानिरहेका छन् । ’
उनले देशका विभिन्न भागमा धार्मिक हिंसा बढ्दै गएको भएपनि सरकार मुकदर्शक भएर बसेको बताए ।








