अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीहरूबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रुपैयाँ अङ्कित दरका हकप्रद शेयर निष्कासन गरिरहेको छ ।

कम्पनीका संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम सतप्रतिशत चुक्ता गरिसकेका छन् ।

संस्थापकहरूले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरूबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने छ । मङ्गलवार सम्ममा सर्वसाधारण सेयर धनीबाट २ अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले बताए ।

गौतमले भने ‘संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइरहेको छ, शेयर भर्ने स्थानहरूमा व्यापक भिडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रूपमै रकम सङ्कलन हुने देखिएको छ ।’

हकप्रद शेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ ।
१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर रहेको छ ।

सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख/२१ करोड १८ लाख रुपैयाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनु पर्ने बाकिँ रहेको कम्पनीले बताएको छ ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखावासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरूले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ ।

हकप्रद शेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =