विदेश भ्रमणले प्रचण्डको सत्ता यात्रा लम्बियो, थाके ओली !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिका चतुर खेलाडी हुन् ।

आफूमा कुनै सङ्कट आइलाग्न लाग्यो भने त्यसलाई टार्न उनले गन्जागोल सिर्जना गराउँछन्, र विरोधीलाई साइजमा ल्याउँछन् ।

‘आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो’ भनेजस्तो प्रचण्डले एकातिर निशाना साँध्दा परिस्थितिले उनलाई हुत्त्याएर अप्ठ्यारो ठाउँमा पार्ने गरेको छ । तर, पनि प्रचण्ड आफ्ना विरोधीलाई तह लगाएरै छोड्छन् ।

भिडेर होस् या लचक भएर सत्ता जोगाउने प्राविधिक ज्ञान प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा प्रयोग गरिरहेका छन् ।

कहिले फायल खोल्ने त कहिले त्यसैमा बार्गेनिङ गर्ने गरेका प्रचण्ड गठबन्धनकै भविष्य धरापमा परेको वर्तमान अवस्थालाई समेत आफ्नो पक्षमा पार्न सफल भएका छन् । त्यस्तै छिमेककै मन समेत जित्न सफल उनले काङ्ग्रेसभित्रै बढेको सरकारप्रतिको असन्तुष्टिलाई समेत कम गराइदिएका छन् ।

शिक्षकदेखि डाक्टरसम्म सडकमा आउँदा विदेशमा ‘मुड फ्रेस’ गरिरहेका प्रधानमन्त्री प्रचण्ड दबाबमा परेको विश्लेषण सुरु भइसकेको थियो । तर, उनी नेपाल आइपुग्दा त्यो विश्लेषणको स्वर सुनिन छाडेको छ ।

अहिले सबैभन्दा ठूलो सत्तारुढ दल नेपाली काङ्ग्रेसभित्रै प्रचण्ड र सरकारप्रति असन्तुष्टि तीव्र छ । यति मात्र नभएर ठुला प्रकरण खोल्नु र अलपत्र पार्नु नै अहिलेको अराजकताको कारण भएको एक थरीको बुझाई छ ।

पछिल्लो पटक बढेको असन्तुष्टिले प्रचण्ड बिस्तारै घेराबन्दीमा पर्न थालेको अनुमान लगाउन गाह्रो थिएन । यता सुन प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको समिति गठन नभएर एमाले पनि फायर नै थियो ।

यति मात्रै होइन, प्रचण्ड स्वदेश फर्केको भोली पल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरियो । जसको चर्को आलोचना खेप्नु प¥यो प्रचण्डले । साना दल र प्रचण्डका विरोधीलाई त यो विषय विरोधको मसला नै बन्यो, रवि लामिछाने नेतृत्वको रास्वपाले त सर्वदलीय वैठक नै बहिष्कार गरेको थियो ।

यता, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त सरकारबाट पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने प्रस्ताव नै गरिसके । प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने प्रस्ताव गरेका उनले मोर्चापछि काँग्रेसको भागमा परेको बेलामा मोर्चाको समर्थनमा काँग्रेस एक्लैले चलाउन पाउनुपर्ने र त्यसो गर्दा आआफ्नो सरकारको बेलामा भएको जस अपजस आआफ्नै पार्टीले पाउने गगनको धारणा छ ।

तर,सभापति शेरबहादुर देउवालाई फकाएर सहयात्री भित्रको असन्तुष्टिलाई मत्थर पारेका प्रचण्डले जलहरी काण्डमा अख्तियार अघि सारेर एमालेलाई समेत तह लगाइदिए ।

यसअघि नै गेरुबस्त्र लगाएर भारत खुसी पारेका उनी अमेरिकाको बाटो हुँदै चीन पुगेर पश्चिमा शक्तिलाई हातमा लिए । चीनमा गएर विआरआईलाई ओझेलमै राख्दा समेत चीनको प्रशंसा पाएका उनले मानसरोवर पुगेर भारतलाई अर्को सन्देश दिन भ्याए ।

जहाँ विआरआईको विषय नउठ्दा स्वदेशकै सहयात्रीमा समेत खुसी हुने परिस्थिति निर्माण हुँदा नारायणकाजी जस्ता हठी स्वभावकालाई साइजमा ल्याउने तथा सरकारविरुद्ध धावा बोल्ने बालेन समेत संवादको बाटोमा आउँदा मधेसमा विकल्प भनिएका साना दल पनि उनले जता खेलायो त्यतै खेलिरहेका छन् ।

जसलाई भिडेर जाने भन्दा मिलेर जाने प्रचण्डको रणनीतिको नतिजा मान्दा संसदमै उठेका धेरै विषयमा समेत एमाले नै पछि हट्नु परेका उदाहरणहरू प्रशस्त छन् ।

समग्रमा प्रचण्ड अहिले बदनाम भए पनि भिडेर अघि नजाने बाटोमा छन् तर अवस्था प्रतिकुल बने कसैलाई नछोड्ने उनले प्रस्ट सङ्केत गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *