गोरखामा आमाको नामबाट नागरिकता दिन सुरु

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ ।

सो कार्यालयले मंगलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्ने गरी गृह मन्त्रालयले गरेको परिपत्रअनुसार नागरिकता प्रदान गरिएको हो । नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको प्रजिअ भुसालको भनाइ छ ।

नयाँ नियमावलीको व्यवस्थाअनुसार १६ वर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उनले बताए । आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयको सिफारीससहित प्रशासनमा निवेदन दिनुपर्नेछ ।

त्यस्तै वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उनले बताए ।

यसअघि बाबुको नागरिकता अनिवार्य रहेकामा नियमावली संशोधन भएपछि बाबुको पहिचान नभएका व्यक्तिलाई पनि आमाका नामबाट नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =