नेपालगन्जमा कसले खलबलायो सामाजिक सद्भाव ?

काठमाडौँ । मंगलबार दिउँसो ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रूपमा नेपालगन्जमा र्‍याली निकाल्यो ।  बागेश्वरी मन्दिरदेखि सुरु भएको र्‍यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा र्‍यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको हो ।

गत आइतबार मुस्लिम समुदायले आफ्नो धार्मिक आस्थामा चोट पुर्‍याउनेगरी कुनै व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै विरोध जनाएको थियो । विरोधपछि ती युवाले स्टाटस हटाउँदै माफीसमेत मागेका थिए । तर मुस्लिम समुदायले विरोध जनाउनेक्रममा हिन्दु समुदायलाई लक्षित गरी गालीगलौज गरेपछि मंगलबार ओमकार समुदायको अगुवाइमा र्‍याली भएको थियो । र्‍यालीमाथि ढुंगा प्रहार भएपछि धार्मिक सद्भाव भड्किएको हो ।

हिन्दु समुदायले आइतबार भएको मुस्लिम समुदायको प्रदर्शनको जवाफ दिन मंगलबार र्‍याली निकालेको थियो । हल्लैहल्लाको पछि लागेर विरोधमा उत्रिँदा दुई समुदायबीचको सद्भाव दुरी बढ्न गएको छ । यही विषयमा सोमबार मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक बसेर सामाजिक सद्भाव र भाइचारा कायम गर्नुका साथै मंगलबार बिहान नेपालगन्जमा सद्भाव र्‍याली निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।

पछिल्लो समय नेपालगन्जमा भएको घटनाक्रमलाई सबै समुदायले सामाजिक धार्मिक सद्भाव खलल हुन नदिनका लागि आयोजना गरिएको सद्भाव र्‍यालीमा सहभागी हुन आएका हिन्दु धर्म गुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगीले बताए । सामाजिक सद्भाव र भाइचारा नै समाजको सम्पत्ति भएकाले एकले अर्कोलाई सम्मान र आदर गर्नुपर्ने उनको भनाई छ ।

मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरीले धर्मले विभाजन होइन एकता र मित्रताको सन्देश दिने भएकाले एकले अर्काको धर्मप्रति आदरभाव प्रकट गर्नसके समाजमा शान्ति र सद्भाव आफैमा कायम हुने कुरामा जोड दिए । तर सद्भाव र्‍यालीपछि अर्को र्‍याली निकालिँदा अवस्था तनावपूर्ण भएको हो ।

बुधबार पनि कर्फ्यु
स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा कर्फ्युलाई निरन्तरता दिएको छ । मंगलबार दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई बुधबार पनि निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए । दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलबार दिउँसोदेखि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । कर्फ्युको कारण बुधबार बिहानैदेखि नेपालगन्ज क्षेत्र सुनसान छ । बजार र यातायात बन्द छ । नागरिकहरू घरभित्रै बसेका छन् ।

सिडिओ आचार्यले अहिले नेपालगन्जको अवस्था सामान्य रहेको बताए। ‘अहिले नेपालगन्जको अवस्था सामान्य छ । कतै अप्रिय घटना भएका छैनन्,’ उनले भने, ‘हामीले सबै पक्षलाई अनौपचारिक रूपमा सम्झाइबुझाइ गरिहरेका छौँ ।’

केहीबेरमा बस्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मात्रै कर्फ्यु हटाउने कि नहटाउने भन्ने विषयमा ठोस निर्णय हुने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले जानकारी दिए । ‘बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको छ,’ उनले भने।

दुई धार्मिक समूहबीचको तनाव चुलिएपछि नेपालगन्ज नगर क्षेत्रमा मंगलबार साँझदेखि सेनासमेत परिचालन गरिएको छ । दुई धार्मिक समूहहरुबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । झडपमा परेर केही घाइते भएका छन् । अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको सिडिओ आचार्यले बताए । उनले धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउनेजस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एक अर्काविरुद्ध जथाभाबी नलेख्न आग्रह गरेका छन् ।

सद्भाव अझै खलबलिने डर
विश्वका धेरै देशमा धर्मका नाममा युद्ध र द्वन्द्व भएका छन् । धार्मिक द्वन्द्वले कहिल्यै प्रश्रय नपाएको देश नेपालमा अहिले केही धार्मिक अतिवादीले खेल्ने मौका खोजिरहेका छन् । छिमेकी राष्ट्र भारतमा हिन्दु र मुस्लिमबिच पटकपटक धार्मिक दंगा भइसकेको छ । हिन्दु अतिवादीले क्रिश्चियनमाथि र शिखमाथि पनि आक्रमण गरेका छन् ।

कस्मिरमा भएको हिन्दु-मुस्लिम दंगामा हजारौं मानिस मारिएका थिए । त्यहाँको दंगा अझै सेलाएको छैन । श्रीलंकामा बुद्धिष्ट र हिन्दुबिच बेलाबेलामा द्वन्द्व भइरहन्छ । इन्डानेसियाको मलकु आइल्यान्डमा सन् १९९९ मा भएको मुस्लिम-क्रिश्चियन दंगामा ६ हजारभन्दा बढी मानिस मारिएका थिए । बोस्निया हर्ज गोभिना, सुडान तथा अन्य थुपै्र देशमा धर्मका कारण द्वन्द्व भड्किएको छ । पूर्वी टिमोरमा क्रिश्चियन र मुस्लिमबिच युद्ध जारी नै छ ।

विश्वका यी धार्मिक युद्धबाट शिक्षा लिएर नेपालले धार्मिक सद्भाव खलबलाउने काम रोक्न राजनीतिक दल, नागरिक समाज, स्थानीय सामाजिक संस्था एक जुट हुन जरुरी छ । अहिले झिल्कोका रूपमा देखिएको धार्मिक सद्भाव भोलिको दिनमा अन्य क्षेत्रमा भुसको आगोसरि नसल्केला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *