समाजको कुसंस्कार बिस्तारै हट्दै छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको चाँडै मृत्यु भएपछि आफ्नो जीवन खुसीले बाच्न पाउने महिलाको अधिकारलाई समाजले बिस्तारै स्वीकारेको बताएका छन् ।
मङ्गलवार गीत ‘रातो टिकी’ गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूरा उमेर हुँदै आफ्नो पति गुमाउँदा बाँकी जीवनमा महिलाले पाउने दुःखका बारेमा भिडियोमा राम्रोसँग देखाइएको बताए । उनले देशको पश्चिमी क्षेत्रमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रूपमा यस्तो प्रचलन रहेको भन्दै समाजलाई बदल्न जरुरी रहेको बताए ।
उनले भने ‘एउटा महिला हाम्रो संस्कार, परम्पराले हामीले सदियौँदेखि स्विकार्दै तर त्यसका प्रतिको प्रनिनिधिमुलक प्रतिवाद गर्दै समाजमा परिवर्तन पनि आउँदै गरेको छ । एउटा पूरा उमेर हुँदै आफ्नो पति गुमाउँदा बाँकी जीवन ती महिलाको उमेर भएको, आफ्नो जीवन आफ्नो खुसीले बाच्न पाउने हक, आफ्नो जीवन अन्य महिलाहरूको जस्तै गरी बाच्न पाउने हक हाम्रो संस्कार, संस्कृति, परम्परा, त्यसले विगतमा छेकबार लगाएको थियो । त्यसलाई तोड्न परम्परा सुरु भएको छ । समाजले स्विकारेर आउन थालेको छ । यसको समस्या पश्चिममा अझै छ । आफ्नो जीवन हुँदाहुँदै पनि मन मारेर आफ्नो जीवन बिताउनुपरेको छ । यो भिडियोले समाजलाई बदल्ने कुरा देखाएको छ ।’
कार्यक्रममा बोल्दै अभिनेता दीपकराज गिरीले गीत सामाजिक दायित्व बोकेको रहेको र कर्णाली र सुदूरपश्चिम प्रदेशमा शिक्षाको अभावका कारण जनचेतना कम पुगेको अवस्थामा गीतले थप सचेत बनाउने बताए । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सामाजिक दायित्व बोकेर निस्किएको गीत धेरै नै राम्रो रहेको बताइन् ।
उनले गीत सामाजिक विषयवस्तुमा रहेकाले सबैले मन पराउनेमा आशावादी रहेको बताइन् ।








