संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिँदैनः मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन् ।
मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाएकी हुन् ।
सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगेकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोही अनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै शुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताइन् ।
म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिना भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।
मन्त्री गुरुङले सो भवनको निर्माण कार्य छिट्टै सम्पन्न हुनेगरी जनशक्ति बढाउन गरिएको आग्रहलाई पनि निर्माण कम्पनीले पालना नगरेको गुनासो गरिन् ।
उनले भनिन्– ‘विगत भन्दा त यो ६ महिनाको अवधिमा काम अलिकति अगाडि बढेकै छ । तर, जुन स्पिडमा अगाडि बढ्नुपर्ने थियो, त्यो चाहीँ भईराखेको छैन । हामीलाई चाहीँ नीतिगत रुपमै, त्यसपछि प्राविधिक रुपमै समस्याहरु छ कि भनेर मैले सबै पक्षलाई मिटिङ नै बोलाएर उहाँहरुसँग संयुक्त मिटिङ राखेर कुरा गरे । कहिले कस्तो हुन्छ भने आयोजना प्रमुखले एउटा कुरा गर्ने, निर्माण व्यवसायीले अर्को गर्ने, परामर्श दाताले अर्को गर्ने यस्तो हुन्छ । यसरी आ–आफ्नै खालको कुरा गर्ने ढंगको परिस्थिति सृजना नहोस् भनेर सबैलाई एकैठाउँमा राखेर हामीले छलफल ग¥यौं । र, छलफल पछाडि के ग¥यौ भने जुनसुकै समस्या भएपनि मन्त्रालयको तर्फबाट गर्नुपर्नेमा ७ दिन भित्रमा यहाँको समस्या समाधान गरिदिने भनेर त्रिपक्षीय निर्णय नै गरेका छौं । अब उहाँहरुले काम छिटो गर्नको निम्ति मजदुरहरुलाई थप गर्नुस भनेर हामीले भनेको थियौं । सुरुमा थोरै थियो, अहिले अलिकति थप्नु त भएको छ । तर, सफिसेन्ट छैन । र, काम गर्ने क्षेत्र चाहीँ सबैतिर छ । हामीलाई जनशक्तिको अभाव भएको अनुभुति भएको छ । र, यसलाई छिटो गराउनुस् भनेर हामी लागेका छौं । हाम्रो मन्त्रालयको मिशन भनेको चाहीँ हिउँदे अधिवेशन यहीँबाट गर्ने भनेर त्यही अनुसार हामी धेरै पटक नै यहाँ आई पुगेका छौं निरीक्षणको लागि । उहाँहरुसँग सम्वादमा छौं । छिटो भन्दा छिटो अघि बढाउनका लागि सभामुख पनि आउनुभएको थियो । उहाँले पनि हेरिसक्नु भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यु पनि आउनुभयो । निरीक्षण गर्नुभएको छ । आज समितिबाट सभापतिसहित माननीयज्युहरु आउनुभएको छ । यो सबैको चासो भनेको चाहीँ जहाँ प्रतिनिधिसभा छ । त्यो जनप्रतिनिधि बस्ने र छलफल गर्ने ठाउँ पनि भाडामा बसिरहनु चाहीँ हुँदैन । हाम्रो आफ्नै भवनबाट संचालन गर्ने भन्नेनै मुख्य लक्ष्यका साथ नै कामलाई अगाडि बढाइएको छ । यो भवन निर्माणको म्याद थप समस्याको समाधान होइन । मैले शुरुमा पनि म आईपुग्दा खेरी म्याद सकिएको अवस्था थियो । र, मैले तपाईहरुको कामको प्रगतिको आधारमा मात्रै म्याद थप हुन्छ भनेपछि उहाँहरुले यो असोज भित्रमा बाहिरको बनाउनेजति सबै संरचना सम्पन्न गर्छौं भन्नु भएको थियो । अहिले त्यो हिसावले हेर्दाचाहीँ सम्पन्न हुनेगरीको अवस्थामा पुगेको छैन । अब अहिले हामी म्याद थपको सोचमा छैनौं । जुन अस्तीको समझदारी थियो, सोही अनुसार काम अघि बढनुपर्छ भन्नेमा सरकार छ । हामी फेरी छलफल नगरी हचुवाको भरमा म्याद थप हुँदैन, गर्दैनौं ।’
यता, निर्माणाधिन संसद भवनको निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी टुन्दी÷सेक जेभीले भने ठेक्का अवधि पुनः ६ महिना थप गर्न सरकारसँग आग्रह गरेको छ ।
६ महिना भित्र सबै काम सम्पन्न गर्नका लागि सरकारसँग म्याद थपको प्रश्ताव राखिएको सो निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रमिन्द्रकृष्ण श्रेष्ठले बताए ।
उनले सो भवनको निर्माण कार्यलाई छिटो सम्पन्न गर्नका लागि आफूहरुले आवश्यक्ता अनुसार जनशक्ति पनि बढाउँदै लगेको र राति पनि काम गर्ने योजना तय गरिएको जानकारी दिए ।
प्राजेक्ट म्यानेजर श्रेष्ठले भने, ‘अर्को ६ महिना थप गर्नुपर्छ । ६ वटा बिल्डिङ हामी पूरा गर्छौं । पेमेन्टमा कुनै समस्या छैन । फिनिसिङको काममा म्यान पावर थप चाहिने हो । त्यो काम हामी गर्दैछौं । म्यान पावर पहिलाको भन्दा बढाइएको छ । अब हामी क्रमिक रुपमा काम बढाउँदै सकाउँछौं । अब नाईट सिफ्टमा पनि काम हुन्छ ।’
सिंहदरबारको पुतली बगैंचामा निर्माणाधिन सो भवन ०७९ असोज १६ भित्र यसको निर्माण सकिसक्नुपर्ने थियो ।
तर दुई पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । टुन्दी÷सेक जेभीले सो भवनको ठेक्का ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको थियो ।








