एमालेमा ओलीको निर्देशन अवज्ञा, गुटबन्दी गर्नेको होडबाजी

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रदेशको नेतृत्व चयन गर्न जुटेको छ । नेताहरुको प्रदेश अधिवेशनमा भ्याईनभ्याई छ ।

पार्टी विभाजनपछिको पहिलो प्रदेश नेतृत्व चयन प्रक्रिया भएकाले नेता–कार्यकर्ता थप सक्रिय भएका छन् । अझ प्रदेश अधिवेशनमा अध्यक्ष ओलीकै आदेशमा नेता कार्यकर्ताले अटेर गरेर निर्वाचन मार्फत नै नेतृत्व चयनको प्रयास गरेका छन् ।

माधव नेपाल समूह पार्टीबाट बाहिरिएपछि हाइसन्चो हुँदै एकलौटी र एकात्मक बनाउन तल्लिन ओलीलाई प्रदेश अधिवेशनमा एकपछि अर्को झट्का लागिरहेको छ ।

प्रदेश अधिवेशनमा होमिएको एमालेको लुम्बिनी प्रदेशमा अध्यक्ष केपी शर्मा ओलीको इच्छा विपरीत निर्वाचन गरेर नेतृत्व चयन भयो । प्रदेश अधिवेशनको सुरुवात ओलीको निर्देशन र चाहना विपरित बन्यो ।

लुम्बिनीको अधिवेशनमार्फत एकताको सन्देश दिने ओलीको चाहना पुरा भएन । दृश्यमा राधाकृष्ण कँडेल र हरि रिजाल देखिए पनि सारमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटगत रुपमा प्रतिस्पर्धी बने ।

सर्वसम्मतको हरसम्भव प्रयासमा नेतृत्वले बलमिच्याई गर्दा समेत प्रतिनिधिहरुले अस्वीकार गरेपछि निर्वाचन विकल्प बन्यो ।

लुम्बिनीमा राधाकृष्ण कँडेल विजय भए । पार्टीमा कुनै गुट नरहेको दाबी गर्ने तर आफै गुटको राजनीति गर्ने नेतृत्वकै छत्रछाँयामा लुम्विनीबाट सुरु भएको गुटको गन्ध अन्य प्रदेशमा पनि देखिन थालेको छ ।

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन् ।

ढुंगेलले ६९६ मत पाएका भने अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए ।

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३५ मत खसेको थियो । कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित भएका थिए ।

यस्तै कर्णालीमा पनि अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ ।

नामावली अनुसार अध्यक्ष पदमा सल्यानका गुलावजंग शाह, कालिकोटका मीनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाया दाबेदार छन् । गुलावजंग र मीनबहादुर गुटगत प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् भने प्रकाशको कुनै गुट छैन ।

उता नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि घनश्याम खतिवडा र विनोद ढकालले प्यानल बनाएका छन् ।

केन्द्रको निर्देशन विपरीत दुई समूहले छुट्टा छुट्टै प्यानल बनाएका हुन् । शुक्रबार पहिलो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न निर्देशन दिएका थिए । उनले प्यानल नबनाउन पनि भनेका थिए । प्रदेश कमिटीले पनि प्यानल बनाउन नपाइने बताएको थियो । तर शनिबारदेखि नै प्यानलको चुनावी प्रचार भइरहेको छ ।

अध्यक्षको हैसियतबाट यो अधिवेशनबाट सबै पदमा सर्वसम्मतिबाटै टुंग्याउने गरी अन्तिमसम्म अधिकतम प्रयास ओलीले गरिरहेकै छन् । प्यानलै बनाएर प्रतिस्पर्धा गरेको पाइए उम्मेदवारी खारेज गर्नेसम्मको उनको चेतावनी छ । तर अध्यक्ष ओलीको आग्रहलाई अटेर गर्दै प्यानल नै बनाएर चुनावी मैदानमा देखिन्छ ।

माथिल्लो पदमा प्रतिस्पर्धा हुने भएपछि तल्लो पदहरुमा समेत उम्मेदवारको लावा लस्कर देखिन्छ । अधिवेशनमा निर्वाचन ओलीका लागि अस्वभाविक जस्तो भए पनि नेता कार्यकर्ताका लागि भने स्वीकार्य देखिन्छ ।

पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस चलाउने तर पार्टीलाई एकलौटी र एकात्मक वातावरण निर्माण गर्न उदत्त ओलीको आदेश एकपछि अर्को प्रदेश अधिवेशनमा अस्वीकृत हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *