एक महिनामै ग्यासको मूल्य प्रतिसिलिन्डर ४५० रुपैयाँले वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन् । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो । विशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ ।
१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ ।
स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ ।









