पर्वतमा मादी खोलाले गाडी बगायो, ३ बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना मादीखोलामा आएको बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका छन् ।
बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शनिबार सांझ ६ : ५० बजे आएको बाढीले टाटा सुमो बगाउँदा गाडिको २ वटा टायर र केही टुक्रा फेला परेको छ भने बेपत्ता ३ जना ब्यक्तिको अबस्था अज्ञात छ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्वरको टाटा सुमो गाडी बगाउँदा गाडी चालक सकुशल रहेको र गाडी सहित त्यसमा सवार नाम वतन नखुलेका ३ जना व्यक्तिहरु बेपत्ता भएका थिए ।
राती ८ :४५ बजे घटनास्थलदेखि अन्दाजि २.५ किलोमिटर टाढा मोदी र समादी खोलाको संगम स्थलमा गाडीको अगाडिको २ वटा टायर सहित छरिएर रहेको केही भागहरु लेदो माटोले पुरिएको अवस्थामा फेला पारी बाहिर निकालिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बेपत्ता व्यक्तिहरुको खोज तथा उद्धार कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्बत बाट डिएसपिको कमान्डमा ४६ जनाको फौज परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए । सशस्त्र प्रहरिले बेपत्ता गाडी र ब्यक्तिको खोजी जारी राखेको छ ।








