राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा संशोधन आवश्यक छ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् ।

समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताए ।

समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रूपमा रहने बताउँदै उनले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए ।

नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रूपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे । वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको उनको भनाइ थियो ।

नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरणका बेरोजगारीको अन्त्य गर्नुपर्ने भन्दै त्यसका लागि औद्योगीकरणतर्फ लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । देशमा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरण गर्नुपर्ने बताउँदै उनले समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *