चाडपर्व यातायात सहजीकरण समिति गठन

काठमाडौँ । सरकारले चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजीकरण समिति बनाएको छ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायहरूसँग छलफल गरी दसैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्था प्रभावकारी बनाउनको लागि चाडपर्व यातायात सहजीकरण समिति गठन गरेका हुन् ।

उनले यो वर्षको दसैँ–तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरूको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्था सहजीकरण गर्ने काम समितिले गर्नुपर्ने बताए । मन्त्री ज्वालाले दसैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्थापनमा पर्याप्त सवारी साधन, यात्रुलाई टिकटको उपलब्धता लगायतका विषयमा केन्द्रित रहेर काम गर्न निर्देशन दिए ।

उनले समितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, प्रदेश सरकारको प्रतिनिधि, महानगर, उपभोक्ता कर्मी र सडक विभागको समेत प्रतिनिधित्व रहने बताए । उनले समितिले यो वर्षको चाडपर्वमा व्यवस्थित र सुरक्षित यातायात सेवा बनाउने गरी काम गर्न निर्देशन दिए । उनले यातायात क्षेत्रका अन्य समस्या समाधानको निम्ति एजेन्डागत रूपमा छलफल गरेर सरकारले नीतिगत, कानुनी र व्यवहारिक समाधान गर्ने बताए ।

उनले सरोकारवाला निकायहरूको उद्देश्य चाडपर्वमा यातायात क्षेत्रमा भद्रगोल नहोस् भन्ने रहेको भन्दै चाडपर्वमा यात्रुहरूले पीडा भोग्न नपर्ने गरी व्यवस्था गर्न सबै निकाय र यातायात व्यवसायीहरूले आफ्नो–आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताए । उनले एउटाले गल्ती गर्दा सबैको नराम्रो सन्देश जाने भन्दै कमी कमजोरीलाई न्यूनीकरण गर्न अनुगमनलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

उनले दसैँको लागि समय लामो नभएको भन्दै सडकहरूको खाल्डाखुल्डी तथा बिग्रेका सडक मर्मतका लागि आजदेखि नै काम गर्न सबै क्षेत्रका सडक डिभिजन कार्यालयहरूलाई निर्देशन दिए ।

उनले भने ‘यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा चाडपर्व यातायात सहजीकरण समिति बनाएका छौँ । उक्त समितिलाई चाडपर्व भन्दा बाहेकका अन्य समस्या नराख्न अनुरोध छ । अन्य समस्या मन्त्री आफैँ बसेर छलफल गरौँला । समितिले यो वर्षको चाडपर्वमा व्यवस्थित र सुरक्षित यातायात सेवा नमुना बनाउने गरी काम गर्नुस् । अन्य यातायात क्षेत्रका समस्या समाधानको निम्ति एजेन्डागत रूपमा छलफल गरेर नीतिगत कानुनी र व्यवहारिक समाधान गर्नेगरी सरकार जान्छ । सरोकारवाला निकायहरूको उद्देश्य चाडपर्वमा यातायात क्षेत्रमा भद्रगोल नहोस् भन्ने हो । चाडपर्वमा यात्रुहरूले पीडा भोग्न नपर्ने गरी व्यवस्था गर्नुपर्छ । सबै निकाय र यातायात व्यवसायीहरूले आफ्नो–आफ्नो जिम्मेवारी पूरा ग¥यो भने राम्रो हुन्छ । एउटाले गल्ती गर्दा सबैको नराम्रो सन्देश जाने भएकाले अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ । सडकहरूको खाल्डाखुल्डी तथा बिग्रेका सडक बनाउन सरकार जिम्मेवार हुनुपर्छ । चाडपर्व लक्षित सडक मर्मत सम्भारको लागि आजदेखि सबै क्षेत्रका सडक डिभिजन कार्यालयहरूलाई निर्देशन दिऔँ ।’

बैठकमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो वर्षको चाडपर्वमा एक जना नेपाली नागरिकले सवारी साधनको अभावमा गाउँघरमा पुगेर टिका लगाउन पाइनँ भन्ने वातावरण व्यवसायीहरूले नबनाउने प्रतिबद्धता जनाए । उनले व्यवसायीहरूले सवारी साधनको व्यवस्था गर्नसक्ने तर यातायात व्यवस्था विभाग, सडक विभाग र यातायात क्षेत्रको अभिभावक मन्त्रालय भएकाले यातायात व्यवसायीहरूका समस्या चाडपर्व भन्दा अगाडि नै समाधान गर्न माग गरे ।

उनले यात्रुहरूलाई टिकट दिन कुनै समस्या नरहेको भन्दै सडक पूर्वाधार मजबुत हुन आवश्यक रहेको बताए ।

उनले सरकारले सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन गर्नुपर्ने बताए । उनले काठमाडौँबाट सवारी साधन भरिएर जाने तर आउँदा खाली आउनुपर्ने समस्या भएकाले भाडा समायोजन हुन आवश्यक रहेको बताए । उनले सधैँ चाडपर्वमा सवारी साधनको भाडावृद्धि गरेर कमाउन मात्रै लाग्ने भन्ने विषयमा अन्त्य गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *