‘क्रिकेटको बिस्तार गर्न सरकार प्रतिवद्ध छ’

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ट लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा सुरु भएको नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रस्तुति गौरवयोग्य रहेको बताए । उनले चुनौतीहरूका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र अब पर्याप्त नहुने भन्दै क्रिकेटमा लगानी बढाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए ।

उपप्रधान एवं रक्षामन्त्री खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता भएको बताए । उनले नेपाली टिमको औसत आयु हेर्दा विश्वका जवान टिममध्ये एक भएको भन्दै थुप्रै क्रिकेट प्रेमी युवाहरू सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर रहेको बताए ।

उनले क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले भने ‘हामीसँग थुप्रै सीमितताहरू हुँदाहुँदै पनि नेपाली क्रिकेटको यो किसिमको खेलको कुशलता, वास्तवमा नै गौरवयोग्य विषय हो । विशेष गरी हाम्रा खेलाडीहरू प्रशंसाका पात्र हुनुहुन्छ । तमाम चुनौतीहरूका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र पर्याप्त हुँदैन, त्यसका साथै क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ट लगानीको वातावरणसमेत हामीले बनाउनु छ । खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता हो । नेपाली टिमको औसत आयु हेर्दा विश्वका जवान टिममध्ये एक हो । हाम्रो मुलुक यतिबेला जनसाङ्ख्यिक लाभांशमा छ । नेपाल युवाहरूको बाहुल्य भएको देश हो । थुप्रै क्रिकेट प्रेमी युवाहरू सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर हुनुहुन्छ । नेपालको क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने विषयमा नेपाल सरकारको तर्फबाट प्रतिबद्धता जनाउँछु ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल सरकार र सम्बद्ध सबै सङ्घसंस्था र खेलाडीहरू स्वयंले पनि नेपालको महिला क्रिकेट टिमलाई सशक्त र मजबुत तुल्याउन दीर्घकालीन योजना बनाइ उच्च तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *