६० किलो सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ

काठमाडौं । ६० किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरू कमल परियार र वीरेन्द्र नेपाली रहेका छन् ।

ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई शुक्रबार पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा प्रहरीले सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । स्कुटरको ब्रेक सुमा लुकाएर ल्याएको सुन ब्रेक सुबाट निकालेर गाल्दा ६० किलो भन्दा केही बढी भएको खुलेको थियो ।

यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ३१ पुगेको छ । यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बालाई भने बिरामी परेका कारण हाजिरी जमानीमा छाडिएको छ ।

अन्य ३० जना भने सीआईबीको हिरासतमै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =