अराजकतालाई मलजल गरेर सरकार चल्दैन : शेखर कोइराला

प्रचण्डले अराजकता मच्चाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकतातर्फ जान लागेको बताएका छन् । काठमाडौंमा शुक्रबार नेपाली कांग्रेसका नेता तथा बुद्धिजीवीहरूसँगको भेटमा डा. कोइरालाले अराजकतालाई प्रधानमन्त्रीले नै मलजल गरेको आरोप लगाए ।

“देश पूर्णरूपमा अराजकतातर्फ जाँदै छ । राजनीतिक, आर्थिक, सामाजिक तथा धार्मिक सबै क्षेत्रमा अराजकता छ,” डा. कोइरालाले भने । उनले प्रधनमन्त्रीको तहबाट अराजकता नियन्त्रणमा भूमिका हुनुपर्नेमा उल्टो अराजकतालाई प्रोत्साहन गर्ने काम भएको बताए ।

कोसी प्रदेशको नामकरणमा प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिमा डा. कोइरालाले यस्तो बताएका हुन् । “कोसी प्रदेश नामकरणबाटै विवाद छ । यो लडाइँ कोसीमा मात्रै सिमित छैन,” कोइरालाले भने, “जातीय राज्यको कुरा प्रचण्डले बोलेका छन् । पार्टी अध्यक्ष भएर बोलेको भए केही थिएन तर देशको प्रधानमन्त्रीले आदिवासी जनजाति दिवसको दिन बोलेपछि परिस्थिति अर्कै भएको छ ।”

उनले देशमा निर्देशित अराजकता आउन खोजेको संकेत गर्दै प्रधानमन्त्रीले बुझेर वा नबुझेर त्यसलाई प्रोत्साहन गरिरहेको उनको टिप्पणी छ । “धरानको मेयरले मन्दिर अघि चर्च बनाउने, सामाजिक सञ्जालमा गोरु काटेर खाएको विषय छ । पहिले पनि खान्थे तर यो हेर्दा धर्मको मात्र कुरा हैन भन्ने लाग्छ,” कोइरालाले भने, “देख्दा धार्मिक लडाइँ लाग्थ्यो तर धरान गएपछि क्रिस्चियन र धार्मिक गुरुहरू भेटेँ । विषय यहीँ सिमित होलाजस्तो लाग्दैन ।”

उनले सुरक्षा नियकाका अधिकारीहरू भेट्दा कुनै पनि बेला जातीय द्वन्द्व भड्किन सक्ने संकेत गरेको उनको भनाइ छ । “सेक्युरिटीका साथीहरू भेट्दा कुनै पनि बेला जातीय द्वन्द्व भड्किन सक्छ भन्नुहुन्छ,” कोइरालले भने, “त्यहाँ पर्याप्त फण्ड पनि छ । गण्डकी प्रदेशमा पनि यसको झिल्को पुगेको छ ।”

डा.कोइरालाले सरकारले अर्थतन्त्र उकासिएको भन्दै तथ्यांक प्रस्तुत गरे पनि अर्थतन्त्रमा सुधार भने नआएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *