एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण निर्वाचित

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन् ।

कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए भने रिजालले ४७७ मत पाएका थिए । उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए भने रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए ।

सचिव पदमा कँडेलकै समूहका दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए । पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगरले ४१८ मत पाएर विजयी बने भने उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारूले ३९३ मत पाए । थारूले कँडेलको समूहबाट उम्मेदवारी दिएका थिए । त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन् । रिजाल समूहकी बाँकेकी वसन्ती अधिकारीले ३५१ मत ल्याएर पराजित भइन् ।

गत १६ गते सुरू भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो । पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेलसँगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *