कसरी सुरु भयो बूढानीलकण्ठ स्कुलको ‘सिक्दै-सिकाउँदै, रमाउँदै-कमाउँदै’ कार्यक्रम ?

काठमाडौँ । बुढानीलकण्ठ स्कुलले वि.सं २०७८ साल वैशाख १ गते ‘लर्निङ एण्ड अर्निङ विथ फन’ भन्ने नाराका साथ विधिवत् रूपमा ‘नलेज पार्क’ स्थापना गरेको थियो । कक्षाकोठामा पढेका कुरालाई विद्यार्थीले व्यवहारिक रूपमै सिकुन् भन्ने हेतुले ‘नलेज पार्क’ स्थापाना गरिएको बुढानीलकण्ठ स्कुलका प्रधानाध्यापक होमनाथ आचार्य बताउँछन् ।

उनका अनुसार उक्त पार्कको अवधारणा बुढानीलकण्ठ स्कुलका शिक्षक तथा वरिष्ठ कृषिविज्ञ ध्रुवकुमार श्रेष्ठले ल्याएका हुन् । उनी विगत २८ वर्षदेखि वातावरण विज्ञान, पेसा व्यवसाय र प्रविधि शिक्षाका विषय पढाउँदै आएका छन् । उनी कृषि पृष्ठभूमिबाटै आएका हुन् । उनले करिब ३०-४० वर्षदेखि कृषि क्षेत्रमा कृषिविज्ञ भई काम गरेका छन् । त्यसैले विद्यालयबाट कृषि क्षेत्रलाई योगदान पुर्‍याउने उनको चाहना स्वरूप ‘नलेज पार्क’को जन्म भयो ।

नलेज पार्कको स्थापनाबारे जानकारी दिँदै श्रेष्ठ भन्छन् ‘मेरो कृषिकै ब्याक्ग्राउण्ड हो । झन्डै ३०, ४० वर्षदेखि यसमा काम गरे । विद्यालयमा पनि प्रिन्सिपल सरको नेतृत्वमा हामीले सुरु गरेका हौँ । हाम्रो टिम नै छ ।’

सुरुमा उनले नलेज पार्कको अवधारणाबारे प्रधानाध्यापक होमनाथ आचार्यलाई सुनाएका थिए । त्यसपछि आचार्यकै सल्लाहमा पार्कको कामलाई अगाडि बढाइयो । स्कुलले ‘सिक्दै-सिकाउँदै, रमाउँदै-कमाउँदै’ उद्देश्यका साथ ‘बूुढानीलकण्ठ स्कुल बागवानी फार्म’ सञ्चालन गर्‍यो । नेपाल सरकारले विद्यालयमा ‘सिक्दै-सिकाउँदै, रमाउँदै-कमाउँदै’ अभियान ल्याउनु अगावै बुढानीलकण्ठ विद्यालयले यो अवधारणा ल्याएको थियो ।

स्कुलले विद्यार्थीलाई कृषिमा संलग्न गराउँदै आएको छ । उनीहरूले उत्पादन गरेका तरकारीलाई उनीहरूको खानामा प्रयोग गरिएको छ । विद्यार्थीहरूले फार्ममा काम गरेबापत केही पकेट खर्च पनि पाउँछन् । आवासीय विद्यालय भएकाले विद्यार्थीहरूले उत्पादन गरेको तरकारी अधिकांश विद्यार्थीकै लागि प्रयोग हुन्छ । बाँकी रहेको तरकारी होलसेलरलाई बिक्री गर्ने गरेको विद्यालयका प्रिन्सिपल होमनाथ आचार्य बताउँछन् । आफैँ सिक्दै-सिकाउँदै, रमाउँदै र कमाउँदै स्कुलमा ताजा खाजा, तरकारी उपलब्ध गराउने स्कुलको लक्ष्य नै रहेको उनले बताए ।

स्कुलले विद्यार्थीलाई बोटबिरुवा रोप्न, हुर्काउन, बढाउन र पाकेका फलफूल टिप्न मात्र सिकाएको छैन । यसका साथै झोलमल बनाउने तरिका, माटोको स्तर पहिचान गरी खेती गर्ने तरिका र अन्य प्राविधिक ज्ञान पनि दिएको छ ।

स्कुलले कक्षा ५ देखि ९ सम्मका करिब ६ सय विद्यार्थीलाई अनिवार्य सहभागी हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीहरूले दैनिक एक घण्टा तरकारी खेतीमा समय दिने गरेका छन् । शनिबार लगायतका सार्वजनिक बिदामा भने त्योभन्दा बढी समय बिताउने गरेको आचार्यले बताए ।

 

आचार्यका अनुसार ‘सिक्दै-सिकाउँदै, रमाउँदै-कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाउन तीन सदस्य कमिटी बनाइएको छ । उक्त कमिटीमा शिक्षकहरू ध्रुवकुमार श्रेष्ठ, भीष्मराज थापा र दुर्गाशोभा चित्रकार रहेका छन् । ध्रुवकुमार श्रेष्ठले प्राविधिक, भीष्मराज थापाले मार्केटिङ र दुर्गाशोभा चित्रकारले अकाउन्टिङ क्षेत्रलाई हेर्ने गरेको उनले बताए ।

त्यसपछि उक्त कार्यक्रमको देशव्यापी रुपमा चर्चा भयो । विभिन्न सञ्चार माध्यमले यसबारे समाचार लेख्न थाले । त्यसबेलाका तत्कालीन शिक्षा मन्त्री देवेन्द्र पौड्याल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र अन्य राजनीतिज्ञले समेत उक्त फार्मको स्थलगत भ्रमण गरे ।

त्यसैबेला शिक्षक श्रेष्ठले देवेन्द्र मन्त्री पौड्याललाई ‘सिक्दै-सिकाउँदै रमाउँदै-कमाउँदै’ मोडालिटिबारे व्याख्या गरिदिएका थिए । उनले बागमती प्रदेशको कार्यक्रममा त्यसबारे प्रिजेन्टेसन दिए । पौडेलले पनि ‘नगरी नहुने रहेछ’ भन्दै मन्त्रिपरिषद्‍ बैठकमा निर्णय बनाएर पेस गरे । मन्त्रिपरिषद्‍बाट पास भएपछि सातै प्रदेशमा यसको नमुना परीक्षण सुरुभयो । अहिलेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम त्यसैको उपलब्धिस्वरुप आएको हो ।

उक्त कार्यक्रमको मोडालिटि शिक्षक श्रेष्ठले सुरु गरेका थिए । डिग्री लिएर मात्र हुँदैन सीप पनि सिक्नुपर्छ भनेर अन्य विद्यालयमा पनि सिकाउन लागिएको उनले बताए । अहिले देशभर पहिलो चरणमा १४० वटा विद्यालयमा यो कार्यक्रम लागु गरिएको छ । सातै प्रदेशमा कार्यक्रमको मोडालिटि गइरहेको र २ सय ४० विद्यालयमा पाइलटिङ भइरहेको उनले बताए । कार्यक्रम सञ्चालनका लागि प्रतिविद्यालय २० लाखको दरले रकम खर्च गरिएको छ ।

प्रतिक्रिया

2 thoughts on “कसरी सुरु भयो बूढानीलकण्ठ स्कुलको ‘सिक्दै-सिकाउँदै, रमाउँदै-कमाउँदै’ कार्यक्रम ?

  1. अत्यन्तै सराहनीय कार्यको लागि हार्दिक बधाई तथा शुभकामना

  2. Thank you so much for this activity. DK Shrestha you did with your team which was you commuted me at different times. You also commited me for the promotion of Asparagus……
    ” Hamile Beu masheka chainau..hai.GARCHAU….. Keep it up continue. My Satisfactions becomes,when Budhanilkantha Schools. kitchen serve the Asparagus…..in meal. 🙏 Once again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *