सरकारी संस्थाहरूको बेरुजु फर्स्यौट र असुलीमा ढिलाइ

काठमाडौँ । सरकारी संस्थाहरूको बेरुजु फर्स्यौट र असुल उपरमा सुधार आउन सकेको छैन ।
सरकारको विभिन्न निकायको बेरुजु फर्स्यौट तथा सरकारी बाँकी रकमहरू असुल उपर गर्ने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा १ करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ । सरकारका विभिन्न निकायको कारोबारमा २ अर्ब ५२ करोड रुपैयाँ साँवा र ब्याजसहित असुलउपर गर्नुपर्ने देखिन्छ । तर गत आर्थिक वर्ष २०७९/८० मा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले १ करोड ९७ लाख रुपैयाँ असुल उपर गरेको छ । यद्यपि यो रकम गत तीन आर्थिक वर्षको भन्दा चाहीँ धेरै नै हो ।
२०७७/७८ मा १ लाख ६३ हजार मात्रै असुल उपर गरिएको थियो । त्यसैगरी २०७८/७९ मा ५८ लाख ६५ हजार मात्रै असुल उपर भएको देखिन्छ ।  कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयकी कार्यालय प्रमुख नमूना कार्की दाहालले गत आर्थिक वर्षमा ५ वटा तेजारथ बापतको सरकारी बाँकी असुल गरिएको बताइन् । त्यस्तै घरेलु तर्फको २४ वटा लगत कट्टा गरेको र एउटा मात्रै सरकारी बाँकीसरह असुल उपर गर्नुपर्ने लगत कट्टा गरेको जानकारी दिइन् ।
उनले कतिपय असुलउपर गर्नुपर्ने व्यक्तिहरू अदालतमा जाने र अदालतबाट असुलउपर नगर्नु भन्ने अन्तरिम आदेश लिएर आउने भएकाले पनि लक्ष्य अनुरूपको असुल उपर गर्न नसकिएको बताइन् ।
उनले भने ‘गत आर्थिक वर्षमा हामीले ५ वटा तेजारथ बापतको सरकारी बाँकी असुल गयौँ भनेदेखि घरेलु तर्फको लगभग २४ वटा लगत कट्टा गर्याैँ । त्यस्तै एक वटा मात्रै सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने लगत कट्टा गरेका छौँ । त्यसबापत हाम्रो यस कार्यालयले १ करोड ९७ लाख रुपैयाँ असुल उपर गर्याैँ। विगतको आर्थिक वर्षमा दुई अर्ब ५२ करोड साँवा, ब्याजसहित असुल उपर गर्नुपर्ने थियो । तर हामीले लगभग एक करोड ३२ लाख मात्रै असुल उपर गर्न सक्यौँ । त्यो भनेको हाम्रो टार्गेटको तुलनामा एकदमै न्यून हो । कतिपय केशहरूमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा त्यसबाट अहिलेलाई सो कार्यलाई स्थगन गर्नु भनेर स्टे अर्डर आउँछ । स्टे अर्डर आएपछि हामीले उहाँहरूको जायजेथा रोक्का गर्ने कामहरू गर्न सक्दैनौँ । त्यसले गर्दा पनि बीचमा रोकिएको हुन्छ भने कतिपय अवस्थामा उहाँहरू सम्पर्कमै नआउने अथवा सम्पर्कमा आएपनि उहाँहरूले सरकारी बाँकी तिर्न तत्परता नै नदेखाउने । त्यस्तो कारणले गर्दा हाम्रो टार्गेट अथवा उठाउनुपर्ने थियो । सो अनुसार असुल उपरको कार्य हुन सकेको छैन ।’
त्यस्तै वि.सं. २०१८ सालको महालेखाको प्रतिवेदनपछि २०५९ /६० सम्मको सरकारी बेरुजुतर्फ भने १८ अर्ब भन्दा बढी थियो । अहिलेसम्म झन्डै ३ अर्ब असुल उपर र फर्स्यौट भइसकेको र अब १५ अर्ब १२ करोड १६ लाख ५० हजार रुपैयाँ अझै असुल उपर हुन बाँकी रहेको उनले बताइन् । कार्यालय प्रमुख दाहालले सम्बन्धित व्यक्तिहरू कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा आफूले कुनै रकम तिर्नुपर्ने नभएको भन्दै अदालतमा मुद्दा हाल्न जाने गरेका बताइन् ।
यसरी मुद्दामा जाँदा सम्बन्धित व्यक्तिले तत्काल काम, कारबाही प्रक्रिया अगाडी नबढाउनु भनी अन्तरिम आदेश लिएर आउने गरेकाले असुल उपरमा समस्या उत्पन्न हुने गरेको बताइन् । त्यस्तै कतिपय व्यक्तिहरूले राजनीतिक पहुँचको प्रयोग गरी डर, त्रास देखाउने गरेको पनि उनले उल्लेख गरिन् ।   कार्यालयसँग स्रोत, साधनको कमी हुँदापनि काम गर्न कठिनाइ भएको उनले बताइन् ।
उनले भनिन् ‘सुरुदेखि हाम्रो बेरुजुतर्फ १५ अर्ब १२ करोड १६ लाख ५० हजार बाँकी छ । १८ सालको महालेखाको प्रतिवेदनपछिको । सरकारी बाँकी २ अर्ब ५९ करोड ९८ लाख १ हजार ९२१ रुपैयाँ सरकारी बाँकी छ । त्यो भनेको ८७ वटा लगतबाट त्यति असुल उपर गर्नु छ । तिर्नुपर्ने छैन होइन भनेर कानुनी उपचारमा जानुहुन्छ ।  न्यायिक निकायमा गएर हामी विरुद्ध रिट हाल्नुहुन्छ । न्यायिक निकायले हामीलाई अहिले यथास्थितिमा राखिराख्नु केही कारबाही अगाडी नबढाउनु भनेपछि हामी सरकारी बाँकी असुलीको प्रक्रियामा जान सक्दैनौँ । सरकारी बाँकी तिर्नुपर्ने चाहिँ राजनीतिक पहुँच भएको, आफू कुनै निकायमा स्थापित भइसकेको व्यक्ति, संस्था आउनुहुँदा उहाँहरूले डर, त्रासको वातावरण सिर्जना गर्न खोज्नुहुन्छ । भरिसक आफूले तिर्नु नपरेहुन्थ्यो । धम्क्याएर वा कसरी हुन्छ तिर्नुपर्ने कुरा तिर्नु नपरे हुन्थ्यो भन्ने आउँछ ।’
कार्यालयमा लेखाको कर्मचारी मात्रै भएको उल्लेख गर्दै दाहालले कानुन र अनुसन्धान हेर्ने कर्मचारीको व्यवस्था भएमा काम गर्न सहज हुने बताइन् । यो कतिपय विषयमा निर्णय गरेपनि कार्यान्वयन गर्न नसकेको पनि उनको भनाई छ । सङ्घीयताको कार्यान्वयनपछि ठेगाना परिवर्तन हुँदापनि कतिपय सम्बन्धित व्यक्ति तथा सम्बन्धित व्यक्तिको उत्तराधिकारी खोज्न समेत कठिनाइ भएको उनले बताइन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =