नेपालमा भारतीय मालवाहक गाडी रोक लगाउन माग

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरूमा रोक लगाउनुपर्ने माग गरेको छ ।
सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरूले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन् ।
उनीहरूले निर्बाध रूपमा आउने भारतीय गाडीमाथि स्थायी ढङ्गबाट रोक लगाइनुपर्ने बताए । त्यस्तै उनीहरूले काठमाडौं लगायतका प्रमुख ठाउँमा ट्रक पार्किङ स्थलको उचित व्यवस्थापनको माग गरेका छन् ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए । उनले ट्रक यातायातमा ४७ वटा मुख्य मुख्य रुटहरूको भाडादर निर्धारण गरेको र त्यसको प्रभावकारी नभएको बताए ।
भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन आग्रह गरे । उनले सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भारवहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने बताए ।
महासंघले राहतजन्य कार्यहरूको व्यवस्थापन,राजश्व चेकजाँचको बेला ट्रकमा भएको सामान र त्यससँग सम्बन्धित कागजातबीच कुनै किसिमको तालमेल नमिलेको वा सो सम्बन्धी विषयमा शंका लागेमा ट्रकलाई महिनौँसम्म थुन्ने, सामान जफत गर्ने सम्बन्धित ऐनहरूमा संशोधन गर्न माग गरेको छ ।








