भाद्र ९ मा ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने

काठमाडौं । काठमाडौं । यही भाद्र ९ गते (शनिवार) ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ ।
नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिस (नारा) र फेण्ड्स क्लव कुपन्डोलले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमबारे जानकारी गराएको हो ।
वागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित सो जलजात्राको २३ औं संस्करणको रुपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
ललितपुरको कुपण्डोलस्थित वागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भई सो जलजात्रामा सहभागी हुन पनि उहाँले सरोकारवाला निकाय र यस अभियानमा संलग्न सबैलाई आह्वान गरे ।
उनले भने, ‘यस महोत्सवको उद्देश्य वागमती नदीलाई माया गर्ने, विभिन्न व्यक्तित्व, संघसंस्थाहरु र आम नागरिकलाई यस महाअभियानमा सरिक गराउने सत्प्रयास हो । यो महोत्सव एक साझा मञ्च हो । जसमा सबैलाई नदी नजिक पु¥याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सृजना गर्दछ । यो महोत्सवको निरन्तरताको रुपमा स्थानीय सहभागिताद्वारा वागमती नदी किनारमा पार्क तथा खेलकुद मैदान समेत निर्माण गर्नेगरी अगाडि बढन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।’
सो जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, वागमती सफाई अभियानमा संलग्नहरु गरेर करिव १ हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।
वागमती नदी किनारामा पार्क तथा खेलकुद मैदान समेत निर्माण हुने गरी आफूहरुले सो जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ ।








