राजेन्द्र लिङ्देन साउदी अरब किन गए ?

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब गएका छन् ।
अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस युएईको निमन्त्रणामा साउदी अरब र दुबईमा हुने विविध कार्यक्रममा सहभागी हुन मंगलबार साउदी अरबतर्फ प्रस्थान गरेका छन् ।
अध्यक्ष लिङ्देन साउदी अरबमा रहदा त्यहाँको प्रमुख शहरहरु जेद्दा, दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट एवं अन्तरक्रिया गर्ने, राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्ने तथा प्रवासी नेपाली एकता समाज साउदी अरबद्वारा आयोजित विविध कार्यक्रममा सहभागी हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
लिङ्देन युएईको दुबईमा पनि विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसंग भेटघाट गर्ने, राजदुतावासका अधिकारीहरुसँग छलफल गर्ने, नेपाली श्रमिकको अवस्थाबारे स्थलगत अवलोकन गर्ने र प्रवासी नेपाली समाज युएईद्वारा आयोजित अधिवेशन घोषणा सभा तथा विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
भ्रमण दलमा राप्रपा केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय प्रवास विभाग प्रमुख आनन्द अधिकारी पनि सहभागी छन् । उनी भदौ १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।








