वीरमा कहिले हट्छ अप्रेसनको पालो कुर्नुपर्ने बाध्यता ?

काठमाडौँ । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अप्रेसनमा महिनौँदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताएका हुन् ।
उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरिरहेको र करारमा जनशक्ति थप्ने योजना रहेको बताए । अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी विस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्यविधि निर्देशिका र अस्पतालले गर्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ ।
डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ति अभावका कारणले सेवा सुरु गर्न नसकिएको बताए । उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताए । आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई÷तीन जना बिरामीलाई सेवा दिनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
आकस्मिक सेवामा गम्भीर बिरामी र सामान्य प्रकृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै उनले जति नै बिरामी थपिएपनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको बताए । अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको निर्देशक डा. पौडेल जिकिर छ ।
उनले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताए । डा. पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको छ ।
वीरमा नर्सिङ जनशक्ति थप भएपछि बन्द अवस्थामा रहेको ७० शैय्या सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अप्ठ्यारो भएको बताएको छ । निर्देशक डा. पौडेलले नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिएपनि कार्यान्वयनमा चुनौती सृजना भएको बताए ।
उनले गरिब तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको बताए । आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शीर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको उनले बताए । आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छ ।
आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त छैन । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताए । अस्पतालले आधारभूत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ ।








