आज शनिबार : देशभरका घटना अपडेट

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
मेचीनगर नगरपालिका-८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सोही टोलस्थित सडक नजिक रगत जस्तो पदार्थ देखिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकारभिट्टाबाट खटिएको प्रहरीले साउन ३२ गते बिहान झाडीमा बुट्यानले छोपेको अवस्थामा उनको शव फेला पारेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुल्नआएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी एक्लै हिँड्दै आएका सुन्दरलाल किसानले साउन ३१ गते साँझ रामजी र सुनरसीलाई गालीगलौज गरेको विषयलाई लिएर भएको झगडामा फलामको खन्ती र सिकल प्रहार गरी हत्या गरेर उक्त झाडीमा लागि छोपेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागू औषधसहित तीन जना पक्राउ
धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने २६ वर्षीया सिता चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कैलाली गाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा धनगढी उपमहानगरपालिका-४ तारा नगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगीलाई १० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित सडकमा बा.१७ च ९६९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदल यात्री कास्की घर भई काठमाडौँ कोटेश्वर बस्ने ७६ वर्षीय पदम नाथ त्रिपाठीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-३ सोल्टी पुलमा को.१३ प ६१३० नम्बरको मोटरसाइकल मे.१ ख२४२३ नम्बरको बसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कमल गाउँपालिका-१ बस्ने ४३ वर्षीय गोपाल प्रसाद पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा लु.७६ प ७२११ नम्बरको मोटरसाइकल र लु.७५ प ६९२० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका-६ पुरानो सडक बस्ने ५४ वर्षीय नबिन श्रीषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
सुर्खेत, गुर्भाकोट नगरपालिका-८ घारी मेहलकुना बस्ने २८ वर्षीय खगेन्द्र खड्काको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका मेहलकुना बजारस्थित विद्युतको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रुकुम (पूर्व), सिस्ने गाउँपालिका-८ खैवाङ बस्ने २३ वर्षीया प्रतीक्षा पुनको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर सरसफाइ गरी पोत्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सल्ले रुकुम(पश्चिम)मा उपचारको क्रममा मृत्यु भएको हो ।
तेह्रथुम, म्याङलुङ नगरपालिका-३ नागदह बस्ने ८५ वर्षीया बाटुला देवी रसाइलीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
कपिलवस्तु, शिवराज नगरपालिका-५ बुढ्डिहवा बस्ने ३५ वर्षीय राजु केवटको सोही ठाउँस्थित सडकको कल्बट छेउमा जमेको पानीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ बस्ने १२ वर्षीय विवेक सुनारको सोही ठाउँस्थित सिक्टा नहरमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
रूपन्देही, तिलोत्तमा नगरपालिका-२ स्थित हाल सञ्चालनमा नरहेको बसको टिकट काट्ने काउण्टरभित्र बुटवल उपमहानगरपालिका-३ ज्योतिनगर बस्ने ६९ वर्षीय खगेन्द्र थापा मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, अर्जुनधारा नगरपालिका-४ कार्की डाँडा बस्ने ४५ वर्षीय डिल्लीराम तामाङ आफ्नै घर छेउको खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ चौखेढुङगास्थित नालामा सोही नगरपालिका-१२ तल्लो बिरुवा बारी बस्ने ४५ वर्षीय राम बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेख, भगवती माई गाउँपालिका-१ भेरी खोलाको किनारमा कैलाली बर्दगोरिया गाउँपालिका-४ छतिबन बस्ने ३१ वर्षीय वीर बहादुर कामी शनिबार मृत अवस्थामा फेला परेका छन् । जडीबुटी व्यापारको सिलसिलमा भगवती माई गाउँपालिका आएका उनी साउन २९ गतेदेखि सम्पर्क विहीन भई खोजी गर्ने क्रममा शव फेला परेको हो ।
कास्की, माछापुच्छ्रे गाउँपालिका-९ घर भई पोखरा महानगरपालिका-१५ फूलबारीस्थित छोरीको डेरामा बस्दै आएकी ७० वर्षीया आईत कुमारी कामी सोही महानगरपालिका-१५ निर्मलटोलस्थित खहरे खोल्साको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसै गरी कास्की, पोखरा महानगरपालिका-१३ कमलपोखरीस्थित खेतको कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, त्रियुगा नगपालिका-१० बोक्सेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, भिमफेदी गाउँपालिका-८ स्थित बाग्मती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बैतडी, दशरथ नगरपालिका-४ साहीलेक बजारस्थित सोही नगरपालिका-४ गडी बस्ने ३५ वर्षीय प्रदीप बरालको समृद्ध सुनचाँदी पसलमा शुक्रबार दिउँसो आगलागी हुँदा पसलभित्र रहेका फर्निचर, सुनचाँदीका गरगहना समेत गरी करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-११ बस्ने अवशेष मिया ठकुरीको सोही उपमहानगरपालिका-१२ स्थित बिपि चोकमा रहेको बाँके चाँद ईन्टरप्राईजेज पसलमा विद्युत् सर्ट भई शुक्रबार राति आगलागी हुँदा पसलको गोदामभित्र रहेको सिरक डस्ना बानाउने रूई, पुराना लत्ताकपडा र रूई फिट्ने मेसिन जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, विराटनगर महानगरपालिका-९ बाटा रोडस्थित सोही ठाउँ बस्ने ओम प्रकाश राठीको ओमकपी उद्योगमा विद्युत् सर्ट भई शनिबार बिहान आगलागी हुँदा उद्योगमा रहेको तयारी कपी, कपी बनाउने मेसिन, कपि बनाउने मेटेरियलहरू जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।










