गृहमन्त्रीले जवाफ होइन, संसदमा उभिएर राजीनामा दिनुपर्थ्यो : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीबारे उठेका प्रश्नबारे संसदमा जवाफ नदिई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । गृहमन्त्री श्रेष्ठले एक क्विन्टल सुन तस्करीबारे संसदमा उभिएर केही दिनअघि जवाफ दिएका थिए । तर, उनले नैतिकताका आधारमा राजीनामा नदिई पदमा बसिरहनु आठौँ आश्चर्य भएको उनले बताए ।
आइतबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद भएको एक क्विन्टल सुन तस्करीमा गृहमन्त्रीको भूमिकाबारे गम्भीर प्रश्न उठेको समेत उनले बताए ।
‘गृहमन्त्री संसद्को रोस्ट्रममा उभिन जाँदा राजीनामा दिनुपर्थ्यो’, उनले भने, ‘ई–सिगरेटमा सुन भेटिन्छ, ब्रेक सुमा सुन भेटिन्छ, भन्सारको सीसीटीभी फुटेज बिगारिएको छ । तार काट्ने, क्यामेराको मुन्टो अन्त फर्काउने अनि बाहिर स्टन्ट गर्ने, कस्तो सरकार हो यो ?’
भित्रभित्रै तस्करहरुसँग साँठगाँठ रहेकै कारण उच्चस्तरीय छानविन समिति बनाएर छानविन गर्न सरकारले नचाहेको समेत उनले बताए ।








