ओलीलाई भेट्न पुगे सांसद सुनील शर्मा, ओलीले भने– शर्मासँग मेरो पुरानै सम्बन्ध हो

काठमाडौँ । गिरफ्तारी मुक्त भए पनि नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोटमा पुगेर भेटेका छन् । सत्ता पक्षीय सांसद उनले आफ्नै पार्टीका सभापतिलाई भन्दा पहिला प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई भेटेका हुन् । उनले पक्राउ मुक्त भएकै दिन शुक्रबार पनि अध्यक्ष ओली राजनेता भएको भन्दै उनले आफ्नो पक्षमा देखाएको सद्भावका प्रति आभार व्यक्त गरेका थिए । उनले ओलीलाई भेट्न जाने घोषणा पनि शुक्रबार नै गरेका थिए । त्यसै अनुसार सांसद शर्मा ओलीलाई भेट्न पुगेका हुन् ।

भेटका क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले संसद शर्मासँग आफ्नो पुरानै सम्बन्ध रहेको र सद्भाव तथा भाइचारा रहेको बताए ।

‘मेरो पुरानो सम्बन्ध हो सुनील शर्मासँग,’ अध्यक्ष ओलीले भने, ‘हामी एकै ठाउँका मान्छे हौँ । पोलिटिक्स कहिले कसो हुँदा, कहिले कसो हुँदा त्यो कुन पार्टीमा होला । त्यो आफ्नो ठाउँमा छ । तर, साथीभाईको हिसाबले, मानवीय हिसाबले बेग्लै कुरा हो फेरि । सुनील शर्मा माननीय नहुँदै अलि अगाडिदेखि नै हाम्रो चिनजान थियो । उहाँ अहिले यहाँ आउनु भयो मलाई खुसी लागेको छ ।’

उनले सरकारले सुन तस्करका विरुद्ध सांसद शर्माले राखेको आवाजलाई दबाउन उनलाई पक्राउ गरिएको बताए ।

‘अहिले माननीय सुनील शर्माले खास गरी सुन तस्करीको सम्बन्धमा आवाज उठाएपछि त्यो आवाजबाट सरकार त्रसित भयो,’ उनले भने, ‘यस आवाजलाई कसरी दबाउने, कसरी तर्साउने, कसरी चुप गराउने भन्ने सरकारले उपाय खोजेको हो । अर्को कुरा मानिसहरु यसैगरी सत्य बोल्दै गए भने सरकार अप्ठ्यारोमा पर्न सक्छ । त्यसकारण कोही नबोलोस् भन्नका निम्ति यसो गरियो ।’

उनले देशभन्दा ठूलो कोही नभएको भन्दै भ्रष्टाचार र तस्करी आफ्नै पार्टीको सरकारले गरेको भए पनि त्यसविरुद्ध बोल्नु पर्ने भन्दै सांसद शर्माले सत्ता पक्षीय सांसद भएर पनि तस्करीविरुद्ध सत्य बोलेको बताए ।

‘देशभन्दा ठूलो र देशमाथि कोही हुँदैन । देश बर्बाद हुँदैछ भने सत्ता पक्ष के प्रतिपक्ष के,’ उनले भने, ‘अहिले सरकार देश सामाजिक, आर्थिक, सांस्कृति सबै हिसाबले देश बर्बाद गर्न उद्यत छ ।’

एक सांसदलाई पक्राउ गर्न सभामुखलाई जानकारी दिनुपर्ने र पक्राउ गर्नुको कारणबारे बताउनु पर्ने भए पनि त्यसो नगरिएकोले एमालेले न्यायका पक्षमा बोलेको बताए ।

‘एउटा बहालवाला सांसदलाई त्यतिकै मनमौजी हिसाबले पक्राउ गरी हत्कडी लगाउन पाइँदैन,’ उनले भने, ‘कसैले नपढीकन लिएको सर्टिफिकेट हो भनिदिएकै भरमा एउटा सांसदलाई सभामुखलाई जानकारी नै नदिई, पक्राउ पुर्जी नै जानकारी नदिई पक्राउ गर्नु स्वेच्छाचारीता हो । त्यसो गर्न पाइँदैन भनेर हामीले न्यायको पक्षमा बोलेका हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *