महिला निर्देशक - १

जसले साथीहरूसँग भिडियो कल गर्दै ‘ड्रिफ्टिङ क्लाउड्स’ डकुमेन्ट्री बनाइन्

सङ्खुवासभाको एउटा सानो गाउँ, मानेभञ्ज्याङमा दिपा श्रेष्ठ जन्मिइन् । आफ्नो अधिकांश बाल्यकाल त्यहाँ बिताइन् । 

उनलाई सानैदेखि फोटोग्राफीमा रुचि थियो । साथीहरूको फोटो खिचिदिन्थिन् । आमालाई ‘ठुलो भएपछि फोटोग्राफर बन्छु’ भनेर सुनाउँथिन् ।

‘अरूको फोटो खिच्दा के रमाइलो , आफ्नो खिच्नु पो राम्रो हो त ?’ आमा भन्नुहुन्थ्यो ।

उनी फोटोसँगै भिडियो पनि बनाउँथिन् । ठुलो भएपछि म्युजिक भिडियोको डिरेक्टर बन्ने कल्पना गर्थिन् । 

गाउँमा एसएलसी पास गरेपछि पढ्नका लागि काठमाडौँ जानुपर्छ भन्ने मान्यता थियो । तर उनी ८ कक्षा पास भएलगत्तै काठमाडौँ आइन् ।  सिनामङ्गलस्थित आफन्तकोमा बसेर अन्नपूर्ण बोर्डिङ स्कुलमा भर्ना भएर अध्ययन गर्न थालिन् । नयाँ ठाउँको नयाँ स्कुलमा अलमलिँदा बिस्तारै उनको फोटोग्राफीबाट ध्यान हट्दै गयो । 

तर पूर्ण रूपमा बिर्सिएकी भने थिइनन् ।   

बुबा-आमा गाउँमै बसेर पसल चलाउनु हुन्थ्यो । त्यसैले उनी बेलाबेलामा गाउँ पुग्थिन् । त्यहाँ पुग्दा फोटोग्राफर बन्न चाहने कुरा फेरी सम्झिन्थिन् । 

उनले फेरी फोटोग्राफीमा नै लाग्ने बिचार गरिन् । त्यसैले उनी स्वयम्भूको आर्ट स्टुडियोमा गएर १५ दिने वर्कसपमा सहभागी भइन् । क्यामेरा सामान्य रूपमा चलाउने काम सकियो । आत्मविश्वास बढ्यो । फोटोग्राफीको नयाँ यात्रा सुरु भयो । 

 उनले त्यसैलाई निरन्तरता दिइन् ।  

सुरुमा उनले फोटोग्राफी सम्बन्धी कुनै व्यक्तिलाई चिनेकी थिइनन् । तापनि लामो, छोटो थुप्रै वर्कसपहरू सहभागी भइरहिन् । त्यसै क्रममा फोटो सर्कल नामको संस्थासँग ठोक्किइन् । त्यसमार्फत पनि थुप्रै वर्कसपमा सहभागी भइन् । 

आफू जस्ता मान्छेहरूको सङ्गत बढ्दै गयो । त्यहाँ उनले क्यामेरा चलाउने सामान्य ज्ञानबाट माथि अगाडि पुगेर फोटोग्राफीलाई अझै गहिरोगरि सिकिन् । 

त्यतिन्जेल बाल्यकालमा देखेको फोटोग्राफर बन्छु भन्ने सपना भेटिइसकेको थियो । अब हुर्किँदै जाँदाको अर्को सपना ‘भिडियो बनाउने’को पालो थियो । तर त्यति बेलासम्म उनले भिडियो बनाइहाल्छु भन्ने चाहिँ सोचेकी थिइनन् । 

त्यस बेला कोभिडको लकडाउन भयो । काठमाडौँबाट सबैजसो मानिसहरू आ-आफ्नो घर फर्किरहेको थिए । पहिलो लकडाउनमा उनी काठमाडौँमा नै बसिन् तर दोस्रो लकडाउनमा गाउँ फर्किइन् । 

गाउँमा उनका साथीहरू कोहिपनि थिएनन् । 

साथीहरूको पुरानो घर, पुरानो पिकनिक स्पट, रमाइलो गरेको ठाउँहरू देख्दा उनलाई बाल्यकालको खुब याद आयो । साथीहरू सम्झिइन् । कोही कहाँ पुगेका कोही कहाँ । कोही नेपालकै अर्को ठाउँमा त कोही विदेशमा । 

सम्झिइन् साथीसँग उनको लामोसमय देखि बोलचाल भएको रहेनछ । 

त्यसै बेला उनलाई आइडिया आयो । यदि साथीहरूसँग कुरा गरेर त्यही विषयमा भिडियो बनायो भने कस्तो हुन्छ ? आखिर उनी जसरी साथीहरूसँग टाढा गएकी थिइन् त्यो अरूको पनि त कथा हुन सक्थ्यो । 

‘जुम’बाट साथीहरूसँग कुरा गरेर डकुमेन्ट्री फिल्म बनाउने सोचिन् । साथीहरूसँग कुरा गरिन् । भिडियो सुट गर्दा के के गर्ने हो बताइन् । 

डकुमेन्ट्री बनाउनु अगाडि उनले दुई जना दाइहरूबाट सल्लाह पनि लिएकी थिइन् । उनीहरूले प्रश्न कसरी सोध्ने भनेर सिकाएका थिए । 

भिडियो एडिटिङबारे कुनै क्लास लिएकी थिइनन् । तर पनि आँट गरिन् ।

कुराकानी सकियो । उनीहरू बिगतको कुरा सम्झिँदै गफिए । उनले त्यही अनुसार साथीहरूलाई उनीहरूको सम्झनासम्म पुर्‍याइदिइन् ।

बाल्यकालका घुम्ने तथा खेल्ने ठाउँहरू देखाइन् । 

बनाउँदै गर्दा सुरुमा केही शङ्काहरू नभएका हैनन् । अरूले महँगो क्यामेराले सुट गरेको उनी देख्थिन् । उनको भिडियो त जुममा रेकर्ड थियो । साउन्डको क्वालिटी पनि राम्रो थिएन । 

तर पनि टेक्निकल कुराहरूले गर्दा आफूलाई नरोकी अगाडि बढिरहिन् । 

यसको कन्सेप्ट, निर्देशन, सम्पादन सबै उनी आफैले गरेकी हुन् । तर उनका दाइहरूले पनि सम्पादन गर्दा केही सुझावहरू दिएका थिए । 

उनको जीवनको पहिलो डकुमेन्ट्री तयार भयो । नाम राखिन् । ‘ड्रिफ्टिङ क्लाउड्स’ ।

नाम राखेको किस्सा पनि रोचक छ । 

‘बाल्यकालको बारेमा तिमीलाई के याद छ ?’ भनेर कसैले सोध्दा उनलाई ‘समर सिजन’ को मात्र याद आउँथ्यो । जाडो बेलाको सम्झना एकदम कम थियो । 

त्यो मौसममा आकाश निलो हुन्थ्यो । डाडाँमुनी बादलहरू स्वतन्त्र भएर फैलिरहेका हुन्थे । दिनको १२ बजे टलक्क घाम टल्किन्थ्यो । 

त्यो दृश्य उनी जहाँ जहाँ गए पनि पछ्याइरहन्थ्यो । बादल उडे जसरी नै । त्यसैलाई सम्झिएर नाम जुराइन् । 

पोस्टरमा निलो आकाशमा स-साना बादलका टुक्राहरू छरिएको देखिन्छन् । ती बादलहरूको तल निलो छानो र एउटा सानो झ्याल भएको घरको टुप्पो छ । त्यो तस्बिर उनको गाउँमै खिचिएको हो । 

उनी सानो हुँदा गाउँमा त्यस्ता घरहरू धेरै हुन्थे । बिस्तारै त्यस्ता घरहरू पनि हराउँदै गए । उनलाई त्यस्ता घरहरू देख्दा बाल्यकालको सम्झना आउँथ्यो ।   

उनको डकुमेन्ट्री सरल छ । हेर्ने जो कोहीले पनि बुझ्छन् । आफ्ना साथीहरू सम्झिन्छन् । त्यो बाल्यकाल, जन्मभूमि र त्यहाँबाट हिँडेपछि जीवन कस्तो भइरहेको छ भनेर सम्झाउने फिल्म हो । अहिले बसाइसराइ गरेर गाउँ नफर्केका धेरै मानिसहरू छन् । उनीहरूले उक्त डकुमेन्ट्री हेरेपछि गाउँघर, बालापनका साथीहरू र घुमेको, खेलेको ठाउँहरू याद आएर आफूसँग रिलेट गर्ने अनुमान लगाएकी थिइन् ।    

उनी सबैलाई त्यो देखाउन चाहन्थिन् । उनीहरूको बाल्यकाल र जन्मभूमि सम्झाउन चाहन्थिन् । 

डकुमेन्ट्री बनिसकेको थियो । त्यसै बेला काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभलमा फिल्मको आवेदन दिने सूचना आयो ।  उनले त्यसमा अप्लाइ गरिन् । छानिइन् । 

त्यसरी नै नेपाल इन्टरन्यासनल फिल्म फेस्टिभलमा पनि अप्लाइ गरिन् । लामो समयसम्म पनि उनको फिल्म सेलेक्ट भए, नभएको कुनै मेल आएन । आउँदैन कि लागिरहेको बेलामा एक महिनापछि छानिएको खबर आयो ।

फोटोग्राफी सुरु गर्दा कोही फोटोग्राफर नचिनेको जस्तै यो डकुमेन्ट्री बनाउँदा पनि सुरुमा उनले कुनै पनि फिल्म मेकरहरुलाई चिनेको थिइनन्  । राम्रो बनाइस्, वा नराम्रो बनाइस् भन्ने मानिसहरू थिएनन् । उनलाई भने आफ्नो काम राम्रै लाग्थ्यो । 

किम्फ र निफमा छनोट भएपछि मानिसहरूको प्रतिक्रिया आउन थाले । तब वास्तवमै उनले ‘राम्रै बनाए छु’ भन्ने महसुस गरिन् । 

फेस्टिभलमा उनको काम हेरेका धेरैले उनलाई राम्रो भनेर प्रतिक्रिया दिए । प्राय सबैले त्यहाँ भएका घटनाहरू आफ्नो जीवनसँग पनि मिलेको बताउँथे । कोही त हेर्दै गर्दा धुरुधुरु पनि रोएका थिए । स्क्रिनिङ सकिएपछि उनलाई ती सँग भेट्न मन थियो तर उनीहरू गइसकेका थिए । 

केहीले यस्तो साधारण फिल्म बनाइरहन आवश्यक नभएको पनि प्रतिक्रिया दिए । जुन स्वाभाविक थियो । सबैलाई सबै कुरा मनपर्दैन भन्ने सोचिन् । 

मानिसको जीवनमा सबैभन्दा साधारण कुरा नै बाल्यकाल हुन् । त्यसैले पनि उनले डकुमेन्ट्रीलाई साधारण नै रहन दिइन् । कुनै तडक-भडक देखाउन आवश्यक ठानिनन् । कथा पनि साधारण थियो । कथाले नै नमागेपछि जबरजस्ती अरू कुरा हाल्नु पनि राम्रो हैन । 

उनले मानिसहरूलाई देखाउन मात्र यो डकुमेन्ट्री बनाएकी थिइनन् । उनी आफ्नो गाउँ-घर, बाल्यकालका साथी, उनीहरूसँग खेलेका ती रमाइला पलहरूलाई सँधैका लागि क्यामेरामा कैद गर्न चाहन्थिन् । जुन एक हिसाबले अब पुरा भएको छ । 

उनी काठमाडौँमा बस्छिन् । तर अहिले पनि डकुमेन्ट्री सुट गर्नू परे गाउँ पुग्छिन् । उक्त डकुमेन्ट्री हेर्ने मानिसहरूले पनि आफ्नो गाउँ-घर जाउन् अनि बाल्यकाल र जीवनलाई फर्केर हेरुन् भन्ने उनी चाहन्छिन् ।

निफ र किम्फमा छानिएपछि अन्य फेस्टिभलहरू र पत्रकारहरूले उनलाई बोलाउन थाले । ‘तपाइको फिल्म दिनुस्, हामी देखाउन चाहन्छौँ’ भन्न थाले । त्यसले उनलाई आनन्द दियो । उनलाई नेपालको फिल्म मेकिङको क्षेत्र एकदमै रामो लाग्यो । कसैलाई नचिनेको निर्देशकको काम पनि छानिँदो रहेछ भन्ने कुराले अर्कै सन्तुष्टि पनि दियो । 

‘नेपालको फिल्म मेकिङ इन्डस्ट्री खुल्ला छ, यहाँ जो कोहीले आफ्नो काम गरेर देखाउन सक्छ’ उनी भन्छिन् । बरु उनको नजरमा त फिल्म क्षेत्र भन्दा फोटोग्राफी क्षेत्रमा अलिक गाह्रो छ । एउटा प्रोजेक्ट गर्‍यो भने एक्जीविसन गर्न पनि गाह्रो पर्छ ।

उनले अब फोटोग्राफी र भिडियोलाई दुवैलाई सँगै लिएर अघि बढ्ने सोचेकी छन् ।

उनलाई यस स्थानसम्म आउन परिवारले धेरै सहयोग गरेको छ । कहिलेकाहीँ आमालाई उनले खिचेको फोटो देखाउँदा सबैलाई ‘मेरो छोरीले यस्तो गरेको छ’ भनेर गर्भका साथ सुनाउँछिन् ।  

उनी भन्छन् ‘ मलाई परिवारले समर्थन गर्नुभयो । मेरो सबैभन्दा ठुलो समर्थन नै  परिवार हो ।’

‘फिल्म क्षेत्रमा महिला निर्देशक किन चाहिन्छ ?’ 

विषयलाई फरक दृष्टिकोणबाट हेर्नको लागि महिला र पुरुष दुवै यस क्षेत्रमा हुनुपर्ने उनको धारणा छ । दुवैको सङ्ख्या बराबर भएमा फरक कथा, फरक विचार र हेर्ने तरिकाहरू आउने बताइन् । 

थपिन् ‘पुरुष निर्देशकहरुले मात्र स्टोरी लेख्दा महिलाको पक्षबाट सोच्न नसक्नु होला । जति तै जे भने पनि हामीले सोच्ने तरिका फरक हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *