भारतको श्रावस्तीमा दुर्घटना

गाईवस्तु बचाउन खोज्दा कार पल्टियो, नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु

बाँके । भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको यूपी४७डब्ल्यू १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरकाअनुसार दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको छ । कारमा सवार नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको पनि मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र वैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ ।

स्थानीय ब्राइटल्यान्ड कलेजमा बीबीएस तेस्रो सेमेस्टरमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएको सहपाठी आकृति रानाले बताए । मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउन आवश्यक प्रक्रियाको तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *