प्रेमिकाको भिडिओ पोर्न साइटमा अपलोड गर्ने व्यक्तिलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

आफ्नै प्रेमिकाको नग्न भिडिओ बनाई पोर्नसाइडमा समेत अपलोड गर्ने व्यक्तिलाई मलेसियाबाट नेपाल ल्याइएको छ।
म्याग्दीका २७ वर्षीय प्रकाश बिकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेर मलेशियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो।
उनले एक युवतीसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत बनाएका नग्न भिडिओ र फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको आरोप छ।
सोही आरोपमा साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका बिकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेशियासँगको समन्वयमा नेपाल ल्याएको हो।
बिक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका थिए। साइबर ब्यूरो भोटाहिटीको अनुरोधमा बिकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गराएको थियो ।
बिकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको छ।








