डा. गाेबिन्द केसीद्वारा २९ साउनदेखि सत्याग्रहमा बस्ने घोषणा

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन् ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने सङ्गठित प्रयास भइरहेको भन्दै सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । डा।केसीले आयोगका सह–अध्यक्ष समेत रहनुभएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरूको त्यस्तो प्रयासमा साथ दिइरहेको आशंका उत्पन्न भएको बताए ।
स्वास्थ्य शिक्षाका विभिन्न विषयहरूमा सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरूले अवैध रूपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगर्नु तथा उनीहरूलाई दण्डित गर्नुको सट्टा संरक्षण गर्नुले त्यस्तो आशंका जन्माएको बताए ।
डा।केसीले भने ‘दलीय कार्यकर्ता भर्ती केन्द्र बनेका राज्यका अरु नियामक निकायसमेत चिकित्सा शिक्षा आयोगलाई अटेरी गरेर मेडिकल माफियाको भाषा बोल्नु संयोग मात्रै नभई मेडिकल शिक्षा सुधारमा अहिलेसम्म भएको सुधारलाई उल्ट्याउने भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिक दलहरूको सङ्गठित प्रयास भएको देखिन्छ । त्यसैले सिटिइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुङ्ग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिन चाहन्छौँ । यीसहित शुल्क बढाउनेसम्बन्धी सिटिइभीटीको निर्णय खारेज गर्ने सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने तथा सञ्चालनमा ल्याउने,एकीकृत स्वास्थ्य शिक्षा ९विज्ञान० प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरूमा विद्यमान शैय्या अनुरूप स्थायी दरबन्दीको व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क औषधि तथा उपचार प्रदान गर्नुपर्ने कानुनी प्रावधान कडाइका साथ लागू गर्ने लगायत हामीसित २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न माग गर्दछौँ । यी सबै मागहरू पूरा नभएमा यही साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौँ ।’
उनले सिटिइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुङ्ग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिए ।








