नेपालमा प्रयोग नभएका स्मार्ट प्रविधि सफ्टवेरिका कलेजको ‘टेक एक्स २०२३’ प्रदर्शनीमा (तस्बिरहरू)

काठमाडौँ । आईटी तथा ईकमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी ‘टेक एक्स २०२३’ आयोजना भएको छ ।  उक्त  प्रदर्शनीमा कम्प्युटिङ र साइबर सेक्युरिटी अध्ययन गरिरहेका विद्यार्थीले ४० भन्दा बढी प्रोजेक्ट प्रदर्शनी गरेका थिए ।

सफ्टवेरिका कलेजको बिजनेस डेभलभमेन्ट डाइरेक्टर अमृत थापाका अनुसार एउटा इन्टरनेट, टेक्नोलोजी र स्किल भयो भने नेपालीले कुनहदसम्म विकास गर्न सक्छन् भनेर देखाउन प्रदर्शनीको आयोजना गरिएको हाे । किताबको शिक्षालाई वास्तविक दुनियामा कसरी प्रयोग गर्ने र त्यससम्बन्धी एप्लिकेसन के–के हुन सक्छन् भनेर सूचना दिन प्रदर्शनीकाे आयोजना गरिएको उनले बताए ।

उनले भने, ‘हामीले कुन हदसम्म के कामहरू गर्न सक्छौँ भनेर बुकको नलेजलाई रियल वर्डमा कसरी प्रयोग गर्न सकिन्छ भनेर र त्यो सम्बन्धी एप्लिकेसन के के हुन सक्छ त्यो सम्बन्धी सूचना दिन यो आयोजना गरेका हौँ ।’

प्रदर्शनीमा कृषि, शिक्षा, साइबर सेक्युरिटी र अन्य क्षेत्रमा आइटी टेक्नोलोजीको कसरी प्रयोग हुन सक्छ भनेर देखाउन विद्यार्थीले विभिन्न प्रविधिको नमुना तयार पारेका थिए । प्रदर्शनीमा रहेका अभिषेक विमली र उनका अन्य चारजना साथी मिलेर नासाले मंगलग्रहमा पठाएका रोबटको सानो मोडल तयार पारेका थिए । जसले डाटा जम्मा गरेर मंगलग्रहबाट पृथ्वीको डाटा सेन्टरमा पठाउने गर्दछ । उक्त रोबटमा क्यामेरा, सेन्सर राखिएको थियो । उनले नेपालसँग मंगलग्रहमा रोबट पठाउने आर्थिक स्रोत नभए पनि भविष्यमा पठाउन सक्ने बताए ।

प्रदर्शनीमा स्मार्ट डस्टबिन पनि राखिएको थियो । सफ्टवेरिका कलेजकै विद्यार्थी अनिला घिमिरे र उनका अन्य साथीले उक्त स्मार्ट डस्टबिन  बनाएका थिए । उनका अनुसार फोहोर सङ्कलन गर्न आउने व्यक्तिलाई लक्षित गरेर स्मार्ट  डस्टबिन बनाएको हो । कति ठाउँमा फोहोर नभए पनि सङ्कलनका लागि जाने तर धेरै भएको ठाउँमा ढिला पुग्ने समस्यालाई समाधान गर्न उनीले स्मार्ट डस्टबिन  बनाएको बताए ।

उनले भनिन्, ‘कति ठाउँमा फोहोर नभएपनि सङ्कलन गर्न गइरहेको हुन्छ तर आवश्यक ठाउँमा नजान पनि सक्छ । त्यसकारणले  स्मार्ट डस्टबिन बनाएका हौँ ।’

उनले उक्त डस्टबिन ड्यासबोर्डमार्फत फोहोरमा लेबल हेर्न सकिने बताइन् । उनका अनुसार डस्टबिन ९० प्रतिशत भरिएपछि लिड ओपन हुँदैन् । डस्टबिन खोल्न फोहोर सङ्कलन गर्ने व्यक्तिले नै क्लोज बटममा क्लिक गर्नुपर्छ ।

साथै खेतबारीमा बिरुवाका लागि हावापानीको मात्रा मिलाउने प्रविधि, जङ्गलमा आगो लागेको वा नलागेको हेर्न र लोकेसन पत्ता लगाउने प्रविधि, पार्किङ स्थल खाली रहेको वा नरहेको हेर्न सकिने जस्ता थुप्रै प्रविधिका मोडल राखिएको थियो । प्रदर्शनीका विद्यार्थी आइटी एण्ड टेक्नोलोजी प्रयोग गरेर कुनै पनि उद्योगको समस्या समाधान गर्न सक्छन् भन्ने उदाहरण भएको कलेजको बिजनेस डेभलभमेन्ट डाइरेक्टर अमृत थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *