मकालु फिचर

जसलाई संवेदी नाटक लिएर विश्व यात्रा गर्न मन छ

नाटक घरभित्रबाट चट्याङ्ग परेजस्तै आवाज आइराखेको थियो । मण्डला नाटक घरको क्याफेमा म ‘चक्र’ नाटकको निर्देशक रामहरि ढकालसँग कुराकानी गर्न पर्खिराखेकी थिए ।

एकछिनमा उनी आइपुगे । उनले निर्देशन गर्न लागेको ‘सेंन्सरी नाटक’को संकल्पना निकै रोचक थियो । नर्वेमा अध्ययन र अभ्यास गरिरहेका उनले नेपालीमा संवेदी नाटक नाम दिएर नव नाट्य शैली विकास गर्नेगरि काम गरिरहेका रहेछन् । अगिल्लो वर्ष पनि ‘इन्साइड आउटसाइड’ नाम दिएर नेपाली जनयुद्धले पारेको प्रभावसँग मानिसहरूलाई साक्षात्कार गराइसकेका रहेछन् । मसँग उनलाई सोध्ने प्रश्न थिए । उनले जवाफ दिन थाले । 

उनले यो नाटकको तैयारी गरेको एक वर्ष भन्दा बढी भयो । तर यसको बिचार भने निकै अगाडी नै गरेका रहेछन् । मास्टर्स गर्ने क्रममा १० वर्षे  जनयुद्धबारे काम गर्ने भनेर प्रपोजल लेखेका थिए । त्यसबेला सोचे, ‘युद्ध नभएको देश कहीँ पनि छैन । यो बारे निकै सिनेमा र नाटकहरू पनि बनाइएका छन् ।’ उनलाई आफूले पनि कसरी फरक ढङ्गले युद्धलाई हेर्न सक्छु भन्ने लागेछ । यही कुरालाई शारीरिक र मानसिक रूपमा दर्शकलाई सिधै अनुभव गराउनेगरि उनले सेंन्सरी नाटकको सुरुवात गरेका रहेछन् ।

‘यो नाटकमा देखिने बत्ती मात्र हैन, मैले तपाइको भित्रको ऊर्जामा पनि काम गर्दै छु । यसलाई मैले ‘आर्ट अफ सेल्फ रियलाईजेशन’ भनेको छु; जुन कुरा आफैले भोगेर अनुभूति गर्नुपर्ने कुरा हो ।’ उनले थप प्रस्ट्याए ।  

‘हामीसँग पाँच वटा इन्द्रिय छन् । ती इन्द्रियले नै हामीले संसारलाई बुझ्ने गर्छौ । बाहिर भएको कुरालाई हाम्रो दिमागले व्याख्या गर्छ, अनि त्यो अनुसारको अर्थ हामीले लगाउँछौ ।’ 

उनले यस नाटकमा एउटा भूगोलको सिर्जना गरेका छन् जहाँ धेरै वस्तुहरू छन् । दर्शकहरूले ती वस्तुसँग संवेगमार्फत अन्तरक्रिया गर्छन् । त्यही मार्फत त्यो नाटकलाई बुझ्दछन् । कुनै बस्तुले गन्ध निकाल्छ भने कुनै बस्तुले ध्वनि । त्यहाँ खान पनि पाइने र विभिन्न अनौठा अनुभवहरू बटुल्न पाउने उनले बताए । र रोचक कुरा त सबैको आँखामा विशेष चस्मा लगाइएको हुन्छ । 

‘चक्र’ को मूल विषय भने जीवन र सङ्घर्ष रहेछ । ढकाल भन्छन् ‘मान्छे जन्मेपछि नमरुन्जेलसम्म त्यो सङ्घर्ष निरन्तर रूपमा चलिरहन्छ । कतिपयले त्यो सङ्घर्ष  नकारात्मक रूपमा पनि हेर्ने गर्छन् । तर सङ्घर्ष खासमा एउटा इन्धन हो ।’ 

त्यही विचारलाई उनले नाटकमा उतार्ने प्रयास गरेका छन् । ‘अरू नाटकमा हामीले आँखा र कानले मात्र हेरिराखेका हुन्छौ भने सेंन्सरी नाटकमा हामीसँग भएको ती पाँच इन्द्रियहरूलाई  बुझ्ने गर्दछौ ।’ 

‘यहाँ दर्शक नै कलाकार हुन्छन् ।’

सबैको बुझाई नितान्त व्यक्तिगत हुन्छ । उनले नाटकमा आँखा को भिजन चस्मा लगाइदिएर अलिकति कम गरिदिने रहेछन् । दर्शक नाटक घर भित्र गएपछि सबै क्रियाकलाप उनीहरूले नै गर्नुपर्ने रहेछ । 

‘नाटक घर भित्र सुरक्षित ठाउँ छ, अर्थात् स्वतन्त्र रूपमा जे पनि गर्न पाइन्छ । तर अरूलाई हानि पुर्‍याउन भने भएन ।’ उनी थप्छन् । 

मैले त्यस नाटकको पोस्टर देखेकी थिए । त्यहाँ एक पटकमा पन्ध्र जना दर्शक मात्र आउने पाउने कुरा लेखिएको थियो । त्यस्तो किन ? 

धेरै मान्छे राख्दा भावना महसुस गर्ने कुरा छुट्छ रे । त्यहाँ सबै कुरा प्रत्यक्ष हुनेभएकोले सहभागीको सङ्ख्याले धेरै प्रभाव पार्ने गर्दो रहेछ । धेरै मान्छे बोलाउँदा बढी भिडभाड हुने र अनुभूतिमा पनि त्यसले फरक पार्ने उनले बताए । 

नर्वे बाट आए पनि उनलाई सबैतिर को मान्छेहरू उस्तै लाग्दो रहेछ । उनले जहाँ गए पनि मान्छेको अनुभूति एउटै हुने देखेका रहेछन् । ‘भोक र माया सबैलाई लाग्छ ।’

उनी थप्दै गए । 

‘सामान र परिवेश फरक होलान्, तर अनुभूति र भावना को रूपमा हामी कोही पनि फरक छैनौ । आ-आफ्नो पृष्ठभूमि फरक भएको अनुसार सोचाइमा पनि फरक पार्छ । जस्तै फरक रङ्गले फरक संस्कृतिमा फरक कुरा बुझाउने गर्छ । तर भावनात्मक रूपमा हेर्ने हो भने यो संसारमा कोही पनि फरक छैन ।’

उनी आफू ‘सेन्सरी नाटक’ गर्ने पहिलो व्यक्ति भएको दाबी गर्दछन् । युरोप तिर गन्ध हो भने गन्ध मात्र, आवाज भने आवाज र स्वाद भने त्यसलाई मात्र मध्यनजर राखेर नाटक गरिने गरिन्छ । यसरी पाँचवटै इन्द्रिय समेटेर कुनै विषयमा सेंन्सरी नाटक गर्ने उनी पहिलो व्यक्ति हुन् । 

उनको कला यात्राको कथा पनि रोचक छ । 

उनलाई सानैदेखि कलामा रुचि थियो । सकेसम्म कलाकारको सङ्गत गर्न खोज्थे । पहिला आरोहण गुरुकुल नाटक गर्न जाने गरे पनि पछि त्यो बन्द भयो । अझै यो बारे सिप सिक्न मन छ भने अझै ज्ञान लिनपर्छ जस्तो उनलाई लाग्यो । आफूलाई कसरी अगाडी बढाउने भनेर उनले सोच्दै गए । ढकालले अलि पछि नर्वे को युनिभर्सिटीमा अप्प्लाई गरे, अनि अडिसनको लागि गए । सेलेक्ट भए । 

उनी प्रकृतिमा भएका सबै कुरालाई प्रेरणाको रूपमा लिन्छन् । साथसाथै आफ्नी आमाको साथले पनि मद्दत गरेको बत्ताउँछन् । उनकी आमाले पनि जीवन भोग्ने क्रममा धेरै सिकाउन भएको रहेछ । तर उनकी आमा अहिले आफ्नो गाउँ नुवाकोटमा बस्दै गरेकोले अहिले सम्म उनको नाटक देख्नुभएको छैन रे । 

नाटकको मनोभाव आफ्नो टिमलाई बुझाउन उनले पहिला सानो प्रयोग गरेछन् । सुरुसुरुमा अलि गाह्रो भए पनि अहिले सबैले अलि कम सम्झाउँदा पनि बुझ्ने गर्दछन् । 

बुझाउने क्रममा उनले पहिला एउटा कोठामा केही गन्धहरू छर्किए । अनि सबैलाई बोलाए । सबैले एक छिनमा कोठामा केही गन्ध भएको बताए । 

‘के को याद आइराखेको छ यससलाई सुँघ्दा ?’ ढकालले प्रश्न राखे । 

कसैलाई सानो बेलामा आमाको सुगन्धसँग मिसिएको बास्ना आएछ भने कसैलाई आफ्नो ओछ्यान को सम्झना आएछ । गन्ध एउटै भए पनि सबैको आ-आफ्नै व्याख्या थियो । सबैले आफ्नै तरिकाले बुझे । 

‘हामी धेरै ठाउँमा गएको हुन्छौ, त्यसै गरी दिमागमा आवाज, गन्धहरू बसेका हुन्छन् । अनि कतै उस्तै कुरा सुन्ने अथवा सुँघ्ने बित्तिकै त्यसैको सम्झना आउँछ। ‘फियर अफ डेथ’ले हामी सधैँ सुरक्षित हुन चाहन्छौ । अनि आँखा बन्द गर्ने बित्तिकै जिउको सबै कण जागृत भएर आउँछन्। त्यसैले यो अझै प्रभावकारी हुने गर्छ ।’ उनले थपे ।   

अहिले उनी केवल छ-सात जना को क्रु सँग काम गर्दै छन् । सुरुवात नेपालमा भए तापनि उनको सपना अझै ठुला छन् । अक्टोबरमा नर्वेमा सो गरेर अझै अरू देशमा पनि वर्ल्ड टुर गर्ने उनको योजना छ ।  

‘यस्तै गरी केही नयाँ कुरा गर्न प्रयास गरिराखेका युवालाई के सन्देश दिन चाहनुहुन्छ ?’ मैले लगभग बिट मार्ने गरी उनलाई प्रश्न सोधेँ ।

‘एउटा बुझ्नै पर्ने कुरा हो: अभाव भनेको नकारात्मक कुरा हैन । जहाँ अभाव हुन्छ, हामीले त्यहाँ केही नयाँ सिर्जना गर्न सक्छौ । कुरालाई नकारात्मक रूपमा लिनु हुँदैन । यहाँ गुरुकुल बन्द भयो अनि बल्ल मा खोज्दै नर्वे पुगे । सङ्घर्ष नकारात्मक कुरा हैन । फेल हुनु भनेको जग बनाउने काम जस्तै हो । यसले हामीलाई अझै आत्मबल दिने काम गर्छ । हामी अझै बढ्ने बाटो दिन्छ ।’

‘नाटक हेर्न आउनु है ।’ निस्किनु अगाडी उनले भने । 

‘छिट्टै आउनेछु। ’ 

म निस्किएँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *